
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना ‘कोमामा’ रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौंमा भएको पछिल्लो १८औँ सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको स्मरण गर्दै त्यसबेला आफूले विषयवस्तु प्रस्ताव गर्ने मौका पाएको बताए। उनले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एशियाली सपना आज कोमामा रहेको बताउँदै त्यसलाई कोमामै राख्ने, मर्न दिने वा ब्युँताउने भन्नेमा निक्र्यौल गर्नुपर्ने बताए।
उनले तनहुँमा जन्मनुभएका सरदार यदुनाथ खनालले नेपाल-चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल भएको स्मरण गर्दै अहिलेको सरकारबाट त्यस्तो अपेक्षा नरहेको बताए। उनले श्वेत पत्र आउने अपेक्षा पनि नरहेको बताउँदै माग भने गर्न चाहेको जिकिर गरे।
उनले भने, “पछिल्लो १८औँ सार्क शिखर सम्मेलन यही काठमाडौंमा भएको थियो। १० वर्ष नाघिसक्यो। त्यतिखेर कुन थिम राख्ने भन्दा मैले नै प्रस्ताव गर्ने सौभाग्य पाएको थिए। शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको त्यो दक्षिण एशियाली सपना आज कोमामा छ। कोमामै राख्ने हो कि, यसलाई मर्न दिने हो कि। यसलाई ब्युँताउने हो, यसबारे हामीले निक्र्यौल गर्नुपर्ने छ। तनहुँमा जन्मनुभएका सरदार यदुनाथ खनालले नेपाल-चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल हुनुभएको थियो। भारतसँग सम्बन्ध नबिगारीकन। त्यसको लागि गहिरो अध्ययन, उच्च नैतिकता र फराकिलो अनुभव चाहिने थियो। त्यस्तो अपेक्षा अहिलेको नेतृत्वबाट छैन। एउटा श्वेत पत्र आहोस् भन्ने अपेक्षा पनि छैन। तर माग भने म गर्न चाहन्छु।”
उनले अहिलेको सरकार र नेतृत्वबाट राम्रो कुराको आश र अपेक्षा गर्न नसकिने टिप्पणी गरे।