जोडिनुहोस
  • होमपेज
  • रासायनिक मलको विकल्प जैविक मल

रासायनिक मलको विकल्प जैविक मल

काठमाडौँ : रासायनिक मलको जथाभावी प्रयोगले बिग्रिएको माटो सुधार गर्न जैविक मल बढाउनुपर्नेमा जोड दिन थालिएको छ।

बालीमा रासायनिक मल मात्र राख्दा पोषण तत्त्व ह्रास हुँदै गएर माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रिँदै गएर उर्वराशक्ति ह्रास भइरहेको छ। अब जैविक मलले मात्र रासायनिक मलमाथिको निर्भरता घटाउन मद्दत पुग्ने देखिन्छ तर जैविक मलको मात्र प्रयोग सम्भव छ ?

विज्ञको भनाइ 

गाउँघरमा किसानले गाईवस्तु पाल्न छाडिसकेको अवस्थामा प्राङ्गारिक, जैविक मल उत्पादन कम भएको छ। तथापि विभिन्न जिल्लामा किसानहरूले प्रविधिबाट जैविक मल बनाइ प्रयोगमा ल्याइरहेका छन्।

माटो विज्ञ जीवन सुवेदी गाईवस्तुको मल, वन जङ्गलबाट पात पतिङ्गर संकलन गरेर कुहाउने, कम्पोस्ट मल बनाउने चलन अहिले हराउँदै गएकाले माटो बिग्रिएको बताउँछन्। ‘गोबर मल र प्राङ्गारिक मल बनाउने चलन हराउँदै गएको छ’, उनी भन्छन्, ‘रासायनिक मलको जथाभावी र अनियन्त्रित ढंगले प्रयोग गर्दा माटो बिग्रियो।’

कृषि अर्थ विज्ञ एवं नेपाल कृषि अर्थशास्त्र समाजका महासचिव डा. देवेन्द्र गौतम प्राङ्गारिक मलको उत्पादन र विक्री वितरण र आपूर्ति प्रणालीको विकास गर्न सकियो भने रासायनिक मलको प्रयोग घटाउन सकिने बताउँछन्। ‘अबको दश वर्षमा जैविक मलको प्रयोग गरेर प्राङ्गारिक खेती प्रणाली अपनाउँदै अर्गानिक उत्पादन, विक्री वितरण र निर्यात गर्न सके तुलनात्मक रूपमा आर्थिक रूपमा, मानव स्वास्थ्य एवं वातावरणका दृष्टिकोणले पनि अधिक फाइदाजनक हुनेछ’‚ उनी भन्छन्।

बालीनालीका लागि रासायनिक मल पनि आवश्यक छ तर यसको जथाभावी दुरुपयोगले माटो स्वास्थ्यसँगै वातावरण प्रदूषण बढाई मानव स्वास्थ्य नै जोखिममा पारिदिएको छ। तर सरकार मलका सन्दर्भमा अलमल देखिएको भन्दै डा. गौतमले मलको स्पष्ट नीति ल्याई जैविक मलको प्रयोग, प्राङ्गारिक कृषिलाई अगाडि बढाउनुपर्नेमा जोड दिन्छन्।

यद्यपि आगामी बजेटमा प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि बजेट छुट्याइनु सकारात्मक रहेको उनको तर्क छ। माटोको गुणस्तर कायम राख्न प्राङ्गारिक कृषिलाई प्राथमिकता दिने बताउँदै आएको सरकारले उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि आगामी वर्षको बजेटमा ४० करोड रुपैयाँ समेत विनियोजन गरेको छ।

खाद्य सुरक्षालाई ध्यानमा राखेर माटोको उर्वरा शक्ति कायम राख्दै कृषि उत्पादन वृद्धिका लागि जैविक मलको प्रयोग बढाउनै पर्ने डा. गौतम बताउँछन्।
नेपालको खेतीयोग्य जमिनमा ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको छ। राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका अनुसार खेतीयोग्य माटोमा ६६ प्रतिशत अम्लीयपन, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत तटस्थ प्रकृति देखिएको छ।

जैविक मल 
वनस्पति र सूक्ष्म जीवाणुजन्य मल अर्थात् जैविक मल वनस्पतिको अवशेष हो। वर्मी कम्पोस्ट, हरियो मल, गोबरे मल, कम्पोस्ट मल, गाईवस्तुको मलमूत्र, कुखुराको मल, भर्मिवास‚ बायोग्यास लगायतका जैविक मलको प्रयोगले माटोको जैविक पदार्थको मात्रा बढ्नुका साथै खेतियोग्य जमिनको खनजोत सहज हुने र समग्र माटोको बनोट बिग्रनबाट जोगिने बताइन्छ।

सन् १९९० देखि नै संसारभर रासायनिक मलको विकल्पमा जैविक मलको प्रयोगलाई जोड दिइएको छ तर अझै पनि जैविक मलको प्रयोग व्यावसायिक रूपमा फस्टाउन नसक्नु दुखद रहेको विज्ञ बताउँछन्। रासायनिक मलको तुलनामा जैविक मल सस्तो पनि रहेकाले कृषि उत्पादन लागत कम गर्न पनि जैविक मलको प्रयोग बढाउन जरुरी देखिन्छ।

तर माटोमा आवश्यक पोषण तत्त्व पर्याप्त नभएको अवस्थामा जैविक मलमा भएको माइक्रो अर्गानिज्म माटोमा बाँच्न नसक्ने भएकाले यो प्रभावकारी नहुन पनि सक्छ। जैविक मलले अन्य मलखादलाई पूरै प्रतिस्थापन गर्न भने नसक्ने जानकारहरु बताउँछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका