जोडिनुहोस
  • होमपेज
  • कान्दामा हाते ट्रयाक्टर: दुई घण्टा बोकेर पुर्‍याउँदा छाएको खुसी

कान्दामा हाते ट्रयाक्टर: दुई घण्टा बोकेर पुर्‍याउँदा छाएको खुसी

भरतपुर (चितवन)। चितवनको विकट कान्दा गाउँ, जहाँ अझै सवारी साधन पुग्न सकेको छैन, त्यहाँका चेपाङ समुदायले बोकेरै भए पनि पहिलोपटक हाते ट्रयाक्टर पुर्‍याएका छन्। सवारी साधन पुग्ने ठाउँबाट दुई घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको यस गाउँमा ट्रयाक्टर पुगेपछि स्थानीयवासी हर्षित भएका छन्।

मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङले गाउँमै हाते ट्रयाक्टर आइपुग्दा सबै स्थानीय खुसी भएको बताए। युवाहरू श्रमका लागि बाहिर जाने र गाउँमा बुढाबुढी तथा बालबालिका मात्र रहने अवस्थामा गोरु पाल्ने परम्परा पनि घट्दै गएकाले खेतबारी बाँझै रहने चिन्ता बढेको थियो। अब हाते ट्रयाक्टरले खेत जोत्न सहज हुने उनले बताए।

राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा चितवनको दुर्गममध्येको एक हो। यहाँ अहिलेसम्म विद्युतीकरणसमेत भएको छैन। पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै दुई घण्टा गाडीमा र त्यसपछि दुई घण्टा पैदल हिँडेर कान्दा पुग्न सकिन्छ। शनिबार गाउँलेले बोकेरै हाते ट्रयाक्टर कान्दा पुर्‍याएका थिए र ट्रयाक्टर बोक्न सबै गाउँले एकजुट भएका थिए।

१५ वर्षअघि जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको यस ठाउँमा विभिन्न सङ्घसंस्थाको सहयोगमा विकासका काम भइरहेका छन्। जङ्गली कन्दमूलमा निर्भर यहाँका चेपाङ समुदाय पछिल्लो समय कृषि पेसामा आफैँ संलग्न भएर जीविकोपार्जन गरिरहेका छन्। कृषि पेसालाई व्यावसायिक बनाउन यो हाते ट्रयाक्टरले ठूलो सहयोग पुग्ने विश्वास अध्यक्ष सीताबहादुरले व्यक्त गरे।

स्थानीय किसान कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। सबै कुराले पछाडि परेको कान्दालाई राज्यले ध्यान दिन नसकेको गुनासो पनि उनले गरे।

कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरको सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा कान्दामा हाते ट्रयाक्टर पुगेको हो। पैसठ्ठी घरधुरी रहेको कान्दामा मितेरी कृषक समूहमार्फत किसानहरू एकीकृत भएर कृषि पेसा गरिरहेका छन्। त्यस्तै, कान्देश्वरी आधारभूत विद्यालयको छात्राबासको जग्गामा पनि खेती गरिएको छ र त्यहाँ उत्पादित तरकारी तथा अन्न छात्राबासमा बस्ने चेपाङ बालबालिकालाई खुवाइन्छ। हाते ट्रयाक्टर कृषक समूह र छात्राबास दुवैका लागि प्रयोग गरिने विद्यालयका प्राधानाध्यापक बालकृष्ण थपलियाले बताए। हाते ट्रयाक्टर उपलब्ध भएपछि यहाँका किसानलाई बारी जोत्न र उत्पादन बढाउन सहयोग मिल्ने उनको भनाइ छ। कृषि उत्पादनसँगै अध्ययनरत चेपाङ बालबालिकालाई जोड्ने प्रयास गरिएको र बालबालिकाकै माध्यमबाट अभिभावकहरू पनि यसप्रति आकर्षित भइरहेको उनले बताए।

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। राज्य र निजी क्षेत्रको सहकार्यबाट नै चेपाङ समुदायमा परिवर्तन ल्याउन सकिने उनको भनाइ छ।

कान्दामा लामो समयदेखि काम गरिरहेको मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलले हाते ट्रयाक्टर पुर्‍याउन सहजीकरण गरेका थिए। चेपाङ समुदायले परम्परागत कृषि प्रणालीबाट खेती गरिरहेकाले व्यावसायिकताका लागि सहजता ल्याउन किसानको अवस्था देखेर हाते ट्रयाक्टर उपलब्ध गराउन पहल गरिएको उनले बताए। किसानले चाहना गरे पनि आर्थिक अवस्था कमजोर भएकाले अनुदानको ट्रयाक्टरमा पनि ५० प्रतिशत रकम जुटाउन सहयोगी हात खोजिएको उनको भनाइ छ। यहाँका चेपाङ समुदायको जीवनस्तर कृषिमार्फत सुधार्न सकिने भन्दै त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्ने उनले बताए। यहाँका किसानले मकै, कोदो, फापर र तरकारी खेती गर्दै आएका छन्। हावापानीका दृष्टिकोणले चिसो मौसम रहेको यस ठाउँमा मौसमअनुसारका फलफूल खेती पनि गर्न सकिने सम्भावना छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका