
काठमाडौं । कोरियामा नेपाली मौसमी कामदार पठाउने विषयमा कुनै सम्झौता नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पष्ट पारेको छ।
हालै सामाजिक सञ्जालमा नेपाल सरकार र कोरिया सरकारबीच मौसमी कामदार पठाउने सम्झौता भएको भनी एक पत्र सार्वजनिक भएपछि मन्त्रालयले उक्त दाबीलाई अस्वीकार गर्दै स्पष्टिकरण जारी गरेको हो। मन्त्रालयले उक्त पत्र नक्कली रहेको र मन्त्रालयको लेटरहेड तथा छापको दुरुपयोग गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार, कोरियामा मौसमी कामदार पठाउने विषयमा कुनै निर्णय भएको छैन। अहिलेसम्म कुनै पनि मितिमा यस्तो सूचना आह्वान गरिएको छैन,ू मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि पनि २०८१ माघमा मन्त्रालयले यस्तै किसिमको भ्रामक प्रचारबाजीप्रति सचेत गराउँदै औपचारिक रूपमा खण्डन गरेको थियो।
मन्त्रालयले लेटरहेड तथा छापको दुरुपयोग गर्दै झुटा सूचना फैलाउने व्यक्तिहरूविरुद्ध कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिएको छ। मन्त्रालयले सर्वसाधारणलाई यस्ता भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक स्रोतबाट मात्र सूचना लिन सचेत गराएको छ।