
वीरगञ्ज, पर्सा । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीशमाथि दुर्व्यवहार भएपछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ।
इजलास कक्षमै नेकपा (बहुमत) का तीन जना कार्यकर्ताले बिहीबार दिउँसो करिब ४ बजे न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि दुर्व्यवहार गरेका थिए। उनीहरू सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमार रहेका छन्। पर्सा प्रहरीले तीनैजनालाई घटनास्थलबाटै पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रका अनुसार घटनापछि १४ वटै न्यायाधीशका निजी सुरक्षा अधिकारी (पिएसओ) परिवर्तन गरिएका छन्। अदालत परिसरमा खटिने सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ।
प्रहरीले पक्राउ परेकालाई अदालतको अवहेलना, साइबर अपराध र अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। मिश्रले उनीहरू खाजा खाने बहानामा अदालत छिरेको र अवसर छोपेर दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताए। पक्राउ परेकाहरूको म्याद थपका लागि शुक्रबार जिल्ला अदालतमा पेश गरिएको छ।