जोडिनुहोस
  • होमपेज
  • भारत–नेपाल रेल व्यापार सञ्जाल विस्तार, ट्रान्जिट मार्ग थप खुला

भारत–नेपाल रेल व्यापार सञ्जाल विस्तार, ट्रान्जिट मार्ग थप खुला

भारत र नेपालबीच रेलमार्ग हुँदै व्यापार र पारवहन (ट्रान्जिट) सञ्जाल विस्तार गर्न एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनुप्रसाद प्रसाईँ (अनिलकुमार सिन्हा) बीच नयाँदिल्लीमा बसेको द्विपक्षीय बैठकका क्रममा ट्रान्जिट सन्धिको प्रोटोकल संशोधनसम्बन्धी लेटर अफ एक्सचेन्ज (LoE) आदान–प्रदान गरिएको हो।

यसका साथ अब जोगबनी–बिराटनगर रेलमार्ग हुँदै कन्टेनर तथा बल्क दुवै प्रकारका मालसामान ढुवानी सहज हुने भएको छ। विस्तार गरिएको परिभाषाअनुसार कोलकाता–जोगबनी, कोलकाता–नौतुनवा (सुनौली) र विशाखापट्टनम–नौतुनवा (सुनौली) मार्गमार्फत हुने रेल–आधारित पारवहन अब अझ खुला र सरल हुनेछ।

नेपालका तेस्रो मुलुकसँग हुने व्यापारका लागि पनि यो निर्णयलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

सन्धि संशोधनपछि भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट आउने मालसामान अब मोरङस्थित नेपाल कस्टम्स यर्ड (बिराटनगर) सम्म सिधा रेलमार्गबाट ल्याउन सकिनेछ। भारतीय अनुदानको सहयोगमा निर्माण गरिएको जोगबनी–बिराटनगर रेलमार्ग सन् २०२३ जुन १ मा नेपाल–भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

बैठकमा दुवै पक्षले इण्टिग्रेटेड चेक पोस्ट (ICP) तथा अन्य सीमापार पूर्वाधार विस्तारका कामलाई स्वागत गरेका छन्। भारत, नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको अवस्थामा, यो नयाँ व्यवस्थाले दुवै देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अझ गहिरो हुने अपेक्षा राखिएको छ।