जोडिनुहोस
  • होमपेज
  • बंकरमा लुकेर ज्यान जोगाउँछन् इजरायलमा रहेका नेपाली

बंकरमा लुकेर ज्यान जोगाउँछन् इजरायलमा रहेका नेपाली

काठमाण्डु – द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार इजरायलमा ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली छन् ।

इजरायलमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म एक जना नेपालीले मात्रै उद्धारको लागि अनुरोध गरेका छन् । अरु नेपालीहरू सुरक्षित छन् इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ । सुरक्षित आश्रयस्थलको सुविधा भएको ठाउँको आसपासमै रहन दूतावासले भनेको छ ।

परराष्ट्र मन्त्रालयले पनि इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभमा रहेको नेपाली दूतावासमा तथा इरानमा कुनै अप्ठ्यारो परेमा कतारको दोहामा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गरेको छ ।

इरानमा नेपालको दूतावास छैन । त्यहाँ रहेका नेपालीहरुले कतारमा रहेको राजदूतावासमार्फत समन्वय गर्नुपर्ने हुन्छ ।

यस्तै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न दूतावासहरुलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री आरजू देउवा राणाले इजरायलको तेल अभिभ र कतारको दोहामा रहेको नेपाली दूतावासका राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी ती देशमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएकी छन् ।

यस्तै इजरायली डिफेन्स फोर्सेस (आइडिएफ)ले जारी गरेको विज्ञप्तिमा पनि जनतालाई सार्वजनिक स्थलमा जानबाट जोगिन, भिडभाडयुक्त ठाउँहरूबाट टाढा रहन र कुनै चेतावनी प्राप्त भएमा सुरक्षित स्थानमा जान तथा आधिकारिक नयाँ जानकारी नआएसम्म त्यहाँ नै बस्न आग्रह गरिएको छ ।

‘‘इजरायल सरकारले जारी गरेको एड्भाइजरी पालना गर्न हामीले पनि यहाँका नेपालीहरूलाई भनेका छौँ’ इजरायलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख कुमार बहादुर श्रेष्ठले बताए । उनले भने, ‘केही समस्या परेमा दूतावासमा सम्पर्क राख्न आग्रह गरिएको छ । परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ ।’

नियोग उपप्रमुख श्रेष्ठले आक्रमण भएका बेला धेरै जोखिम हुने, तर त्यसपछिको एक–डेढ घण्टामा स्थिति सामान्य हुने गरेको बताए । ‘जुन बेला आक्रमण हुन्छ, त्यो बेला अतालिन्छौँ । तर, फेरि स्थिति साम्य भइहाल्छ,’ उनले भने । आइतबार दिनभर शान्त भएको, तर राति आक्रमण हुने चिन्ताले सताएको उनले बताए ।

इजरायलमा सुरक्षाका लागि बंकर बनाइएको छ, जुन भूमिगत हुन्छ । जेरुसेलम र तेलअभिभमा रहेको अस्पतालमा नेपालबाट केयर गिभरअन्तर्गत नर्सिङ तथा घरेल कामदारका रूपमा धेरै महिला कार्यरत रहेका छन् । तर, सो क्षेत्रका घर, भवन तथा अस्पतालमा बलियो बंकर बनाएका कारण मानवीय क्षति धेरै नहुँदा नेपाली सुरक्षित नै रहेको श्रेष्ठले बताए । उनले भने, ‘अहिलेसम्म कोही नेपाली खतरामा परेका छैनन् । सबै सुरक्षित छौँ ।’ उनका अनुसार इजरायल नियन्त्रित गाजा क्षेत्रमा समेत केही नेपाली कार्यरत छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५५ सय नेपाली कार्यरत छन् । यसमध्ये केयर गिभरअन्तर्गत १६ सय र साना किसान सहकारीमार्फत कृषि अध्ययनका लागि दुई सय नेपाली इजरायलमा छन् । बाँकी नेपाली भने कानुनी प्रक्रिया पूरा नगरी इजरायल पुगेर काम गरिरहेका छन् ।

इजरायलले सन् २०१६ देखि केयर गिभरअन्तर्गत कामदार लिन थालेको हो । त्यसयता आकर्षक कमाइको प्रलोभनमा धेरै नेपाली इजरायल पुग्ने गरेका छन् । त्यस्तै, इरानमा १२ नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ । त्यसैबिच मध्यपूर्वमा नेपालीको संख्या करिब १५ लाख रहेको अनुमान छ ।

अधिकारीहरूका अनुसार इजरायल–इरान युद्ध बढेर गयो भने त्यसले मध्यपूर्वलाई असर गर्नेछ र नेपालीलाई पनि अकल्पनीय असर पार्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका