
म्याग्दी। धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६६ लाख रुपैयाँ बराबरको लागतमा छवटा गौरवका आयोजना सञ्चालन गरिरहेको छ। यीमध्ये दुईवटा बहुवर्षीय क्रमागत योजना हुन् भने चारवटा योजनाका लागि तीन करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार सङ्घीय र प्रदेश सरकारको विशेष तथा समपूरक अनुदानमा सञ्चालित चारवटा सालबसाली आयोजनाको ठेक्का सम्झौता भई कार्यान्वयन सुरु भएको छ। वडा नम्बर ४ मुदीको वडा कार्यालय भवन निर्माणका लागि प्रदेश सरकारको ६० लाख र गाउँपालिकाको ४० लाख गरी ८४ लाख ९६ हजार रुपैयाँमा मालिका भगवती कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ। ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन गरी चारकोठे भवनको भुइँ तलामा ढलानको तयारी गरिरहेको छ। गाउँपालिकाका अनुसार पहिलो तलामा सभाहल निर्माण हुनेछ।
सङ्घीय सरकारको एक करोड १० लाख रुपैयाँ विशेष अनुदान प्राप्त भएको मन्छिम–शिवाङ–हिलापोखरी ‘एक घर, एक धारा’ खानेपानी योजना निर्माणका लागि बागेश्वरी कन्ट्रक्सन काठमाडौँसँग ८२ लाख ३९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ। यस आयोजनाबाट धवलागिरि–७ का मच्छिम, शिवाङ र हिलापोखरीका करिब तीन सय घरपरिवार लाभान्वित हुनेछन्।
सङ्घीय सरकार र गाउँपालिकाले ३५–३५ लाख रुपैयाँ विनियोजन गरेको लुलाङ–गुर्जा सडक निर्माणका लागि रारा तेन्जिन कन्ट्रक्सन प्रालिले ३२ लाख ८९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरका अनुसार गत वर्ष सङ्घीय, प्रदेश र गाउँपालिकाले विनियोजन गरेको ६ करोड रुपैयाँ बजेटबाट लुलाङ–गुर्जा सडकको लुलाङबाट देउराली लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको छ। यस वर्षको ठेक्कामार्फत लत्रवाङबाट गुर्जातर्फ सडक निर्माण थालिएको छ।
त्यसैगरी, सङ्घीय विशेष अनुदान ४० लाख रुपैयाँ बजेट विनियोजन भएको मुदी ढल व्यवस्थापन योजनाका लागि भण्डारी ढोरपाटन निर्माण सेवाले ३७ लाख ७७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। पूर्वाधार शाखा प्रमुख रावलका अनुसार यस योजनामार्फत मुदीगाउँमा ढल व्यवस्थापनका लागि चार सय मिटर पक्की नहर निर्माण गरिनेछ। बर्खामा बस्तीमाथिको पाखोबाट आउने बाढीलाई व्यवस्थित गर्न यो नाला निर्माण गर्न लागिएको हो। वडाध्यक्ष घर्तीका अनुसार दुई सय ७० घरपरिवारको बसोबास रहेको मुदीमा बर्खायाममा बाढीको जोखिम थियो।
वडा नम्बर ३ घट्टेखोलामा सात करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा छ। जुम्ली–प्रतिष्ठा–माछापुच्छ्रे जेभीले ठेक्का लिएको भवनको हालसम्म तीन करोड ९० लाख रुपैयाँ भुक्तानी भइसकेको छ। भवनको मुख्य संरचनाको काम सकिएर रङरोगन, घेराबार र चमेनागृह निर्माण भइरहेको छ।
वडा नम्बर ७ ताकममा चार करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पाँच शय्या क्षमताको अस्पताल भवनको दोस्रो तलासम्म ढलान सकिएको छ। हालसम्म दुई करोड ३४ लाख रुपैयाँ भुक्तानी भइसकेको यस भवन निर्माणका लागि बिएम–आइएस–एसी जेभीले ठेक्का लिएको थियो।
धवलागिरि गाउँपालिकाको गाउँसभाबाट चालु आवका लागि छनोट भई बजेट विनियोजन भएका एक सय पाँचमध्ये एक सय दुईवटा योजनाको सम्झौता भएको र उपभोक्ता समितिसँग सम्झौता भएका योजना वैशाख महिनाभित्र सम्पन्न हुने चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताए। गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने ४, ५, ६ र ७ नम्बर वडाका मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ७८ वटा योजनाको सम्झौता गरिएको थियो। चालु आवमा पूर्वाधार योजनाका लागि करिब १५ करोड रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए।