जोडिनुहोस
  • होमपेज
  • तटबन्ध नहुँदा वनहरा नदीको जोखिममा बादी बस्ती, विस्थापनको त्रास

तटबन्ध नहुँदा वनहरा नदीको जोखिममा बादी बस्ती, विस्थापनको त्रास

कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा परेको छ। नदी तटीय क्षेत्रमा रहेको यो बस्तीतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ।

बस्तीका अगुवा पदम राना (बादी)ले बस्ती जोगाउन गुरुयोजना निर्माण गरी भरपर्दो तटबन्धको व्यवस्था गरिदिनुपर्ने माग गरेका छन्। उनले नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन धेरै वर्षदेखि माग गरे पनि भरपर्दो व्यवस्था हुन नसकेको बताए। बर्खा आउन केही महिना मात्र बाँकी रहेकाले नदी छेउमा रहेका बासिन्दा चिन्तित छन्। गुन्यालफाँटामा ५० घर बादी समुदाय र एक सयभन्दा बढी घर दलित समुदायका छन्। विसं २०६४ मा नदीमा आएको बाढीले सात परिवार बादी विस्थापनमा परेका थिए।

पदम बादीका अनुसार नदीले वर्षात्का बेला बस्तीतर्फ कटान गर्ने भएकाले थोरै जग्गा भूक्षय भएमा पनि चार घर विस्थापनमा पर्ने देखिन्छ। स्थानीय केशव बादीले बस्दै आएको पाँच कट्ठा जग्गा गत वर्ष आएको बाढीले बगाएर लगेको बताए। अहिले उनको ६ धुरमा बनेको टहरा मात्र बाँकी छ। परिवारको खर्च जुटाउन भारतमा मजदुरी गर्नुपर्ने बाध्यता रहेको र बास बस्ने टहरा नै नदीले बगाए कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको उनले बताए।

स्थानीय दुरादेवी कुमालका अनुसार बस्ती जोगाउन वर्षौं पहिले बनाइएका तटबन्ध ठाउँठाउँमा भत्किएका छन्। बाढी आए बस्ती नै छाडेर सुरक्षित सडक क्षेत्रमा खुला आकाशमा रात बिताउनुपर्ने विगतको बाध्यता स्मरण गर्दै उनले अहिलेसम्म भरपर्दो तटबन्ध निर्माण नहुँदा बस्ती छाड्नुपर्ने अवस्था आउन सक्ने बताइन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका