आर्थिक
राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलद्वारा पदभार ग्रहण: सुपरीवेक्षण र कर्जाको गुणस्तरमा जोड

काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बालुवाटारस्थित बैंकको कार्यालयमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए।
गभर्नर पौडेलले भने, “हामीले केवल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ। त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।”
उनले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि बताए। साथै, राष्ट्र बैंकका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उनले उल्लेख गरे।
राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ। डा. पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको शपथ तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। त्यसलगत्तै उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गरेका थिए