जोडिनुहोस
  • होमपेज
  • सिमराको तनावबारे नागरिक समूहको चिन्ता, सबै पक्षलाई संयमित हुन आग्रह

सिमराको तनावबारे नागरिक समूहको चिन्ता, सबै पक्षलाई संयमित हुन आग्रह

काठमाडौं ।बाराको सिमरामा देखिएको तनावपूर्ण स्थितिले मुलुकलाई अनावश्यक मुठभेडतर्फ धकेल्न खोजेको भन्दै नागरिक समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको मुखैमा देखिएका यस्ता गतिविधिले लोकतान्त्रिक प्रक्रियामा असर पर्न सक्ने भन्दै समूहले सरकार, राजनीतिक दल र ‘जेनजी’ (युवा जमात) तीनै पक्षलाई संयमित हुन आग्रह गरेको छ।

समूहका अध्यक्ष विष्णुहरि दाहालद्वारा जारी विज्ञप्तिमा सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको तोडफोड, भिडन्त र कर्फ्यूको अवस्थालाई लोकतान्त्रिक अभ्यासमाथिको प्रहारका रूपमा उल्लेख गरिएको छ। विज्ञप्तिमा ‘जेनजी’ का नाममा कुनै राजनीतिक दललाई निषेध गर्ने प्रयास र त्यसविरुद्ध दलहरूको शक्ति प्रदर्शन दुवै लोकतान्त्रिक आचरणविपरीत रहेको ठहर गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार हो। दलहरूले पनि प्रतिवादका नाममा तनाव बढाउने गतिविधि गरे सुरक्षा अवस्था जटिल बन्ने मात्र होइन, फागुन २१ मा शान्तिपूर्ण निर्वाचन सम्भव नहुन सक्ने जोखिम छ।”

नागरिक समूहले गत भदौ २३ र २४ को आन्दोलनले संविधानको रक्षा गर्दै बनाएको सकारात्मक छविमा हिंसा र बदलाको भावना हावी हुन नदिन ‘जेनजी’ समूहलाई सचेत गराएको छ। चुनाव घोषणापछि दलहरूले जनतामाझ जाने अधिकार रहेको उल्लेख गर्दै समूहले दलहरूलाई पनि उक्साहट र भिडन्तबाट टाढा रहन आग्रह गरेको छ।

समूहले शान्त वातावरणमा चुनाव हुन नसके मुलुक राजनीतिक अनिश्चिततामा जाने र यसको प्रभाव सबै पक्षमा पर्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “सबै पक्ष संयमित भई संवाद र संवैधानिक प्रक्रियामार्फत समाधान खोज्नु आवश्यक छ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका