जोडिनुहोस
  • होमपेज
  • शिक्षकद्वारा कक्षा १२ को परीक्षा बहिष्कार, बोर्ड कर्मचारीबाटै सञ्चालन गर्ने अडानमा

शिक्षकद्वारा कक्षा १२ को परीक्षा बहिष्कार, बोर्ड कर्मचारीबाटै सञ्चालन गर्ने अडानमा

काठमाडौं । विभिन्न मागसहित २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। यद्यपि, राष्ट्रिय परीक्षा बोर्डले भने शिक्षकहरू परीक्षामा सहभागी नभए पनि कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने अडान लिएको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले परीक्षा सञ्चालन गरे पनि शिक्षक-प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने स्पष्ट पारेका छन्। सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने आश्वासन दिए पनि शिक्षकहरूले आफ्नो आन्दोलन जारी राखेका छन्। यसैबीच, शिक्षकहरूको माग सम्बोधन गर्न प्रयासरत शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाइसकेकी छिन् र मन्त्री निवास पनि छोडिसकेकी छन्।

यता, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि सबै संयन्त्र प्रयोग गर्ने जनाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय निकायलाई परिचालन गरिने, जिल्ला परीक्षा समन्वय समिति, शिक्षा इकाइ र प्रदेशमा रहेको बोर्डको कार्यालयको सहयोगमा केन्द्राध्यक्ष खटाएर परीक्षा सञ्चालन गरिने बताए। सबै शिक्षक सहभागी नभए पनि अन्य कर्मचारीको सहयोगमा परीक्षा सुचारु गरिने बोर्डको भनाइ छ।

शर्माले शिक्षकहरूलाई परीक्षामा फर्कन आह्वान गरिएको र यदि उनीहरू नफर्केमा पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक र निजी विद्यालयका शिक्षकहरूको सहयोग लिइने जानकारी दिए। जिल्लामा आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीले सहज हुने गरी संयन्त्र प्रयोग गर्न सक्नेछन्। परीक्षा केन्द्रको बाहिरी सुरक्षाका लागि भने प्रहरी परिचालन गरिने बोर्डले जनाएको छ। यस वर्ष कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदैछन् र १ हजार ५९० परीक्षा केन्द्र तोकिएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका