
काठमाडौं । पाकिस्तानी गुप्तचर संस्था आईएसआई को ‘स्लिपर सेल’को आरोपमा एक नेपाली नागरिक अन्सरुल मियाँ अन्सारीलाई भारतको दिल्ली प्रहरीले पक्राउ गरेको छ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, दिल्ली प्रहरीले हालै आईएसआईसँग संलग्न २१ जना एजेन्टहरू पक्राउ गर्ने क्रममा अन्सारीलाई पनि नियन्त्रणमा लिएको हो।
हिन्दुस्तान टाइम्सका अनुसार, अन्सारीविरुद्ध मे महिनामै अभियोग पत्र दायर भइसकेको छ र हाल उनलाई तिहाड जेलमा राखिएको छ। दिल्लीको एक होटलबाट पक्राउ परेका अन्सारी पाकिस्तान जान लागेका बेला नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार, अन्सारी अघिल्लो समय कतारमा ट्याक्सी चालकका रूपमा कार्यरत थिए र त्यहीँबाट उनी आईएसआईसँग सम्पर्कमा आएका थिए। त्यसपछि उनलाई पाकिस्तान लगेर केही दिन आईएसआईका उच्च अधिकारीहरूबाट तालिम दिइएको दाबी गरिएको छ।
तालिमपछि नेपाल हुँदै दिल्ली पठाइएको अन्सारीलाई गोप्य सूचना समेटिएको सीडी पाकिस्तान पठाउन निर्देशन दिइएको बताइएको छ।
तर, नेपाल प्रहरीले भने यस घटनाबारे जानकारी नभएको जनाएको छ।