
भिजिट भिसाका नाममा मानव तस्करीमा जोडिएको अभियोगमा मुद्दा खेपिसकेका अध्यागमन अधिकृत नै अहिले गृहमन्त्री रमेश लेखकको सचिवालयमा छन् । उनको सचिवालयमा रहेका शाखा अधिकृत विमल पौडेलसहित नौ अध्यागमन अधिकृतविरुद्ध सरकारी लिखत किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा १८ माघ ०८० मा काठमाडौं जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर गरेको थियो । मुद्दामा सफाइ पाएर पुनः गृहमै फर्किएका उनलाई लेखक गृहमन्त्री बनेपछि सचिवालयमा तानेका थिए । मन्त्रीकै सचिवालयमार्फत अध्यागमनमा भिजिट भिसाको सेटिङ चलेको सूचनाका आधारमा अख्तियारले छानबिन गरिरहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेपछि थप अनुसन्धानसहित जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा चलाएको थियो । प्रहरीको अनुसन्धानबाट दैनिक तीन सयजनालाई सेटिङमा भिजिट भिसामा पठाइएको र दैनिक पाँच लाख रुपैयाँ रकम उठाउने गरेको भेटिएको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतले उनीविरुद्धको प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।