
जनकपुरधाम। गृहमन्त्री रमेश लेखकले सुशासन, विकास तथा समृद्धिका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताएका छन्।
गृहमन्त्री लेखकले “मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी” को आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताएका हुन्।
उनले विभिन्न चुनौतीहरूको बीचमा सुरक्षा निकायबाट इमान्दार प्रयास भएको खण्डमा शान्ति सुरक्षा स्थापना गर्नमा कुनै कठिनाइ नहुने बताउँदै लागु औषधको कारोबार, बिक्री वितरण, सेवन तथा भन्सार चोरी पैठारी नियन्त्रणमा ध्यान दिनका लागि निर्देशन दिए।
गृहमन्त्री लेखकले दैनिक रूपमा सडक दुर्घटनामा ७ जना र आत्महत्यामा १७ नेपालीको मृत्यु हुने गरेको बताउँदै त्यसमा कसरी नियन्त्रण एवं रोकथाम गर्ने विषयमा ध्यान दिनका लागि सुरक्षा निकायका प्रमुखहरूमा आग्रह गरे।
उनले प्राकृतिक प्रकोपको जोखिममा पुरै नेपाल भएको बताउँदै प्राकृतिक विपत्ति आएको वेलामा आम जनताको पहिलो आशा तथा भरोसाको केन्द्रको रूपमा सुरक्षा निकाय नै भएकाले यी सबै विषयमा गम्भीर रूपमा खोज, अनुसन्धान र मनन गर्न जरुरी रहेको बताए।
गृहमन्त्री लेखकले मधेश प्रदेशको समान भूगोल, संस्कृति हुनुका साथै समस्या पनि समान नै भएकाले एउटै प्रकारको सुरक्षा रणनीति अपनाएको खण्डमा सबैतिर त्यसलाई लागु गरेर सुरक्षित बनाउन सकिने बताए।
मधेश प्रदेशका समस्या र माग
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले खुल्ला सीमानाका कारणले मधेशका युवाहरूमा लागु पदार्थको सेवन गर्ने प्रवृत्ति बढ्नुका साथै किसानहरू कुखुराजन्य पदार्थ र माछामा आत्मनिर्भर भएको बेलामा भारतबाट हुने चोरी पैठारीका कारणले नेपाली किसानहरू मारमा परेको र ती खाद्य पदार्थले मानव स्वास्थ्य जोखिममा रहेको बताए।
उनले मधेश प्रदेशमा देखिएका स्वास्थ्य, शिक्षा, बजारको छाडापन तथा चोरी पैठारीमा प्रभावकारी नियन्त्रणका लागि मधेश प्रदेश सरकारसँग प्रहरी नभएकाले चाँडोभन्दा चाँडो प्रहरी समायोजन गरिदिनका लागि गृहमन्त्रीसँग आग्रह गरे।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आम जनताको जीउ, धनको सुरक्षामा खटिएका प्रहरी प्रशासनको संरचना, उपकरणहरू निकै कमजोर अवस्थामा रहेको बताउँदै प्रदेश सरकारले आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गरिरहेको बताए।
उनले प्रदेशको सहयोगले मात्र पूरा हुने अवस्था नभएको बताउँदै सङ्घ सरकारले प्रहरीको संरचना तथा युनिटहरूको सबलीकरणमा विशेष ध्यान दिनुपर्ने विषयमा सुझाव पनि दिए।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडीको अध्यक्षतामा भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, नेपाली सेनाका रथी निर्मल थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख होतराज थापा सहित ८ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ।