Breaking News
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो, निर्माण कम्पनी कालोसूचीमा सिफारिस

कास्की। पोखरा महानगरपालिका–४ र ५ जोड्ने फिर्केखोलामा निर्माण गर्न लागिएको पुलको ठेक्का सम्झौता सात वर्षसम्म पनि काम नभएपछि तोडिएको छ। सडक डिभिजन कार्यालय पोखराले विसं २०७५ असोजमा शान्ति–आरोग्य जेभी सानेपा ललितपुरसँग ठेक्का सम्झौता गरेको थियो, तर निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले ठेक्का रद्द गरेको हो।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बाँस्तोलाले पुल निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण कम्पनीले काममा कुनै प्रगति नदेखाएका कारण ठेक्का सम्झौता अन्त्य गर्नुपरेको बताए। उनले अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि नयाँ ठेक्का प्रक्रिया सुरु हुने जानकारी दिए।
कार्यालयले निर्माण कम्पनी शान्ति–आरोग्य जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। कार्यालय प्रमुख बाँस्तोलाका अनुसार सार्वजनिक खरिद ऐन र ठेक्का सम्झौताअनुसार कम्पनीको कार्यसम्पादन, पेश्की जमानत र धरौटीबापतको रकम जफत गरिनेछ। साथै, हालसम्म भएको काम र बाँकी कामको नापजाँच गरी मूल्याङ्कन गरिनेछ।
पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत जिरो किमीबाट विन्ध्यवासिनीसम्मको छ लेन सडकमा फिर्केखोलाको साँघुरो पुलका कारण दुर्घटना बढेपछि नयाँ पुल निर्माणको प्रक्रिया थालिएको थियो। सडक डिभिजन कार्यालयले ११ मिटर चौडाइ र ५० मिटर लम्बाइका दुईवटा पुल निर्माणका लागि रु १७ करोड १० लाखमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार पुल विसं २०७७ चैत ३० भित्र सम्पन्न हुनुपर्ने भए पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलाइ गरेको थियो। पुल निर्माणका लागि तीनपटकसम्म म्याद थपिएको थियो। स्थानीयवासीले पनि पुल निर्माण समयमै सम्पन्न गर्न दबाब दिँदै आएका थिए।





















