
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ। लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ।
विसं २००४ सालमा काठमाडौँमा जन्मिएका ७७ वर्षीय डङ्गोल कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख थिए। नेपाली राजनीतिमा जुझारू नेताको परिचय बनाएका डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए।
उनका श्रीमती छन्। उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता र नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकु दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिए।