
काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा पाकिस्तानी आतंकवादीहरूको आशंकित गतिविधिलाई लिएर दुबै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा सीमा गस्ती र निगरानी अभियान चलाएका छन्।
भारतले नेपालको भूभागमा आतंकवादी गतिविधि हुनसक्ने सूचना पाएको दाबी गरेपछि गएको शुक्रबार दुवै देशका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा सशक्त संयुक्त गस्ती गरेका हुन्। इन्डिया टुडेको समाचार अनुसार, भारतको सशस्त्र सीमा बल ९एसएसबी० र नेपालको सशस्त्र प्रहरी बल ९एपीएफ० ले ‘नो म्यान्स ल्यान्ड’ भनिने घना जंगल क्षेत्रमा संयुक्त खोजी तथा निगरानी अभियान सञ्चालन गरेका हुन्।
एसएसबीका कमान्डेन्ट गंगा सिंहले इन्डिया टुडेसँगको कुराकानीमा नेपाल–भारतबीचको सुरक्षा समन्वय बलियो हुँदै गएको बताएका छन्। “हामी हरेक महिना समन्वय बैठक गर्छौं। नेपाली सशस्त्र प्रहरी बलसँग हाम्रो सम्बन्ध सुदृढ छ,” उनले भने। “दुवै देशका सुरक्षाकर्मी मिलेर आतंकवादविरुद्ध मोर्चाबन्दी गरिरहेका छौं।”
सिंहका अनुसार नेपालगन्ज क्षेत्रमा एउटा इस्लामिक संगठन सक्रिय रहेको र त्यहाँ पाकिस्तानी नागरिकहरू विशेष कार्यक्रमका लागि आउने गरेका सूचनाहरू प्राप्त भएका छन्। यस्ता सूचनालाई आधार मान्दै एसएसबी र एपीएफले संयुक्त रूपमा अनुसन्धान र निगरानी कार्य तीव्र पारेका छन्।
पछिल्लो समय अयोध्या क्षेत्रमा आतंकवादी हमलाको सम्भावनाबारे चर्चा चलिरहेका बेला सीमा क्षेत्रमा सतर्कता अझ बढाइएको हो। सिंहका अनुसार, “पाकिस्तानी आतंककारीहरू कुनै पनि स्थानलाई निशाना बनाउन सक्छन्, त्यसैले हामी सबै संभावनाको अध्ययन गरिरहेका छौं।”
नेपाल–भारतबीच करिब १,७०० किलोमिटर लामो खुला सीमा रहेको छ, जसले गर्दा सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती थपिने गरेको छ। एसएसबीले सीमामा निगरानी टावरमार्फत कडाइका साथ हेरचाह गरिरहेको र हतियारसहितका संकटलाई समेत सामना गर्न तयार रहेको जनाएको छ। सो अभियानले दुवै देशबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाएको सुरक्षा स्रोतहरूले जनाएका छन्।