देश
राजावादी आन्दोलन जनविरोधी, अराजक र लोकतान्त्रिक मूल्यविपरीतको गतिविधि : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालैका राजावादी आन्दोलनहरूलाई जनविरोधी, अराजक र लोकतान्त्रिक मूल्यविपरीतको गतिविधि भन्दै कडा आलोचना गरेका छन्। उनले गणतन्त्रविरोधी क्रियाकलापहरू जनताको सम्प्रभुता र संविधानविरुद्ध भएको स्पष्ट पारेका छन्।
पोखरेलले शुक्रबार काठमाडौंमा भएको राजावादी प्रदर्शनलाई हिंसात्मक र अराजक भन्दै त्यसले राजतन्त्रको निरंकुशता र दमनको झल्को दिएको टिप्पणी गरे। उनका अनुसार, राजावादीहरूको आन्दोलनले नयाँ पुस्तालाई राजतन्त्रको दमन थाहा पाउने मौका दिएको छ ।
उनले गणतन्त्रको विकल्प दिन्छौं भन्नेहरूले आन्दोलनमार्फत अपिल गर्न र सन्देश दिन सक्नुपर्नेमा राजावादीहरू पूर्णतः असफल भएको बताए। राजावादीहरूको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो,ू पोखरेलले भने ।
गणतन्त्र दिवस (जेठ १५) को अवसरमा नेकपा एमालेले देशभर विशेष उत्सवको रूपमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने योजना रहेको छ।
पोखरेलले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकतावद्ध हुन आह्वान गरेका छन्। उनले भने, लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पंक्ति क्रियाशील हुनु पर्दछ।
उनले राजावादी आन्दोलनका नाममा भएको हिंसात्मक घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।