जोडिनुहोस
  • होमपेज
  • सगरमाथा संवादको तयारी तीव्र, प्रधानमन्त्रीको प्रत्यक्ष सक्रियता

सगरमाथा संवादको तयारी तीव्र, प्रधानमन्त्रीको प्रत्यक्ष सक्रियता

काठमाडौं  । नेपालले पहिलोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सगरमाथा संवाद कार्यक्रमलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन्। आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने संवाद कार्यक्रमका लागि सरकारका विभिन्न निकायहरू तयारीमा जुटेका छन्।

प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, र वन तथा वातावरण मन्त्रालयले आ–आफ्नो भूमिकामा तयारी तीव्र पारिरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार, प्रधानमन्त्री ओली स्वयं कार्यक्रममा विशेष चासो राख्दै नियमित रूपमा तयारीबारे ब्रिफिङ लिने गरेका छन्।

यो संवाद कार्यक्रम सन् २०१९ मै घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले मनाउने अन्तर्राष्ट्रिय हिउँ दिवसका अवसरमा सगरमाथा संवाद सुरु गर्ने घोषणा गरेका थिए।

कार्यक्रमको निर्देशक समिति अध्यक्ष प्रधानमन्त्री ओली स्वयं रहेका छन्। परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर क्षेत्रीका अनुसार, चीन र भारतबाट राष्ट्रप्रमुख वा सरकार प्रमुख तहको सहभागिता सुनिश्चित गर्न पहल भइरहेको छ। साथै, अन्य ५० देशका उच्चस्तरीय प्रतिनिधिहरूलाई निमन्त्रणा पठाइसकिएको छ।

संवादमा जलवायु परिवर्तन, पर्वतीय क्षेत्रमा यसको प्रभाव, र समाधानका उपायबारे उच्चस्तरीय बहस गरिनेछ। विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुपक्षीय विकास बैंकका प्रतिनिधि, विषय विज्ञ, अनुसन्धानकर्ता, संघ-संस्थाका प्रतिनिधि, तथा नेपालकै सांसद, मन्त्री, पत्रकार, खेलाडी र सेलिब्रिटीहरूको सहभागिता रहनेछ।

परराष्ट्र मन्त्री डा= आरजु राणा देउवाले पनि तयारीलाई तीव्र बनाउँदै दैनिकजसो समन्वय बैठकहरू लिने गरेकी छन्। थाइल्याण्ड भ्रमणका क्रममा समेत उनले विभिन्न देशका प्रतिनिधिसँग संवादबारे छलफल गरेको जानकारी प्रवक्ता ढकालले दिएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार, सगरमाथा संवाद नेपालको लागि जलवायु कूटनीतिको क्षेत्रमा कोसे ढुङ्गा बन्ने अपेक्षा गरिएको छ। मन्त्रालयका प्रवक्ता ढकाल भन्छन्, यो कार्यक्रमले विश्वभर नेपाल र पर्वतीय क्षेत्रको महत्व उजागर गर्नेछ।”

संवादमा सहभागी अतिथिहरूको बास, यातायात तथा अन्य व्यवस्थापनका लागि छुट्टै सचिवालय खटिएको छ। विषयवस्तु र वक्ताहरूको टुङ्गो पनि चाँडै लाग्ने तयारी सचिवालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका