
काठमाडौं । लामो समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच नयाँ ‘ब्रेक थ्रू’ भएको छ । थापाको निम्तो मान्दै लिङ्देन आज राप्रपा नेपालको विरोधसभामा सहभागी हुने भएका छन् ।
एउटै लक्ष्य र गन्तव्य बोकेर हिँडिरहे पनि राजावादी हस्ति नेताहरू एक ठाउँमा उभिन सकिरहेका थिएनन् । लिङदेन र थापाबीच त झन् पानी बाराबारकै अवस्था थिए । राप्रपालाई नै फुटाएर थापाले राप्रपा नेपाल गठन गरेको हुँदा यी दुई पार्टीबीच तिक्तताको अवस्था कायम थियो । राजावादी दुई प्रमुख शक्ति नै मिल्न नसक्दा समग्र राजसंस्था पक्षधरहरुको एकता गाँठो परिरहेको थियो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालको कार्यक्रममा अध्यक्ष लिङदेन उपस्थित हुने पुष्टि गरे ।
‘राजसंस्थाको पक्षमा हुने कुनै पनि आन्दोलन र अभियानलाई साथ समर्थन दिने हाम्रो पार्टीको घोषित नीति नै हो । आज राप्रपा नेपालबाट अध्यक्षज्यूलाई निम्ता आएको छ र उहाँ सहभागी हुनुहुन्छ,’ श्रेष्ठले भने ।