जोडिनुहोस
  • होमपेज
  • कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

तानसेन।  पाल्पाका स्थानीय तहले कृषि र पशुपालनबाट आफ्नो क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउने जमर्को गरेका छन् । तानसेन र रामपुर नगरपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने जमर्को गरेका हुन् ।

कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तानसेन नगरपालिकाले नगर भित्रका किसानहरूलाई आत्मनिर्भर बनाउन कृषि सामग्री, बाख्रा र मौरीघार प्रदान गर्दै आएको छ । आर्थिक विकास परियोजनाअन्तर्गत नगरपालिकाले यहाँका किसानलाई बाख्रा, मौरीघार र अन्य कृषि सामग्रीहरू उपलब्ध गराउँदै आएको हो ।

नगरको नीति तथा योजनाअनुसार आर्थिक विकास संघ रेडासँग सहकार्य गर्दै नगरपालिकाले ११ वटा वडामा बाख्रा, कुखुरा, बिउबिजन वितरण गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले भने, ‘हामी कृषि र पशुपालनबाटै नगरको समृद्धि खोजिरहेका छौं, जबसम्म हामीले किसानलाई व्यावसायिक बनाउन सक्दैनौं तबसम्म समृद्धि हासिल हुँदैन ।’

हालसम्म वडा नम्बर १ मेड्पाअन्तर्गत सिलाई मेसिन, वडा नम्बर ६ मा २० वटा बाख्रा, वडा नम्बर७ मा २० वटा बङ्गुर, वडा नम्बर ८ का कृषकलाई २० वटा बाख्रा, वडा नम्बर ९ मा सुन्तला फलफूल वितरण, वडा नम्बर १० का कृषकलाई २२ वटा बिउपाठी र १ बिउ बोका उपहारको रूपमा प्रदान गरिएको छ ।

यसैगरी, वडा नम्बर ११ मा ५ हजार कुखुरा, ६२ वटा बाख्रा, एउटा बिउ बोका, २२ गोलासहित मौरी घार, वडा नम्बर १२ मा ५८ वटा हाते ट्याक्टर, २९ कम्वायल, १२ कन्सेलर, प्रदान गरिएको नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए ।

बाख्राका पाठापाठी अन्य कृषकलाई उपहार दिनेगरी बाख्रा प्रदान गरिएको हो ।

आर्थिक विकास सङ्घ रेडा पाल्पाका निर्देशक लीलाबहादुर कार्कीले किसानलाई प्रोत्साहन गर्दै कृषकका आवश्यकता र मागका आधारमा तानसेन नगरपालिकाको आर्थिक सहयोग र हेफर नेपालको प्राविधिक सहयोग, रेडाको सहजीकरणमा कृषि सामग्री उपलब्ध गराएको बताए ।

साथै रामपुर नगरपालिकाले पनि कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ मौरीका घार वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । मौरी पालनलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्न घार वितरण गरिएको नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बताइन् ।

परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आएका रामपुर– ४ का किसान शेरबहादुर रानाले आधुनिक घार पाएपछि आफूमा उत्साह थपिएको बताए ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका