
काठमाडौं । भैरहवास्थित सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध राजस्व छलीको अभियोगमा एक करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना मागसहित मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभागले उच्च अदालत तुलसीपुर, बुटवलमा मुद्दा दर्ता गरेको हो।
राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत दायर गरिएको उक्त मुद्दामा अग्रहरीमाथि भन्सार चोरी, अवैध सामान पैठारी, मूल्य अभिवृद्धि कर र आयकर सम्बन्धी गम्भीर अनियमितताको आरोप छ। विभागका अनुसार अग्रहरीले राजस्व चुहावट नियन्त्रण ऐन, २०५२ को विभिन्न दफा उल्लंघन गरेका छन्।
अनुसन्धानमा सुन्दर प्लाइउड सेन्टरबाट भन्सार चोरीको तीन लाख २५ हजार, मूल्य अभिवृद्धि कर सम्बन्धी १५ लाख ६९ हजार र आयकर छलीको ३१ लाख ८० हजार रुपैयाँ बराबरको बिगो देखिएको छ। यसअनुसार कुल बिगो ५३ लाख २७ हजार रुपैयाँ रहेको छ।
विभागले सो बिगो बराबरको १०० प्रतिशत जरिवाना थप गर्दै कुल एक करोड ६ लाख ५५ हजार रुपैयाँ असुल गर्न माग गरेको छ। साथै, कसूर पुष्टि भएमा कैद सजायको मागसमेत उच्च अदालतसमक्ष राखिएको छ। राजस्व अनुसन्धान विभागका अनुसार अग्रहरीमाथि कर सम्बन्धी ऐनअनुसार कडा कारबाही हुनसक्नेछ, यदि अदालतले आरोप पुष्टि ग¥यो भने। हाल मुद्दा प्रक्रियामा रहेको छ र कानुनी निष्कर्ष पर्खनु बाँकी छ।