
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र सुदृढ बनाएर देशलाई प्रगतिको बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उत्कृष्ट व्यवस्थामा अब प्रगतिका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले हुकुमी निगाहको सट्टा नागरिक आफैँले मतदान गरेर वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जातरजाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधि चुन्न पाउने व्यवस्था उत्कृष्ट भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका सबैको आचरण र व्यवहारमा भने सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत सहभागी हुनुहुन्थ्यो । गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको अवसरमा आज गणतन्त्र दिवस मनाइँदैछ ।