
राप्रपा प्रवक्ता तथा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले लोकतान्त्रिक अभ्यासमा प्रतिपक्षको भूमिका केवल सरकारको विरोधमा सीमित हुन नहुने बताएका छन्। उनले सरकारका जनहितकारी र सकारात्मक कामलाई समर्थन गर्नु नै स्वस्थ लोकतन्त्रको आधार भएको उल्लेख गरेका हुन्।
उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा तथा श्रम संस्कृति पार्टीलगायत राजनीतिक शक्तिहरूलाई सम्बोधन गर्दै राष्ट्रहितलाई दलगत स्वार्थभन्दा माथि राख्न आग्रह गरेका छन्। शाहीले देश निर्माण कुनै एक दल वा व्यक्तिको प्रयासबाट सम्भव नहुने भन्दै साझा सहकार्य र जिम्मेवारी आवश्यक रहेको धारणा व्यक्त गरे।
उनका अनुसार प्रतिपक्षले सरकारका कमजोरी र त्रुटिमा आवश्यक खबरदारी गर्नुपर्छ, तर त्यो आलोचना केवल विरोधका लागि नभई सुधार र सही मार्गदर्शनका लागि हुनुपर्नेमा जोड दिएका छन्। उनले सुशासन, राष्ट्रियता र जनचासोका विषयमा सबै पक्ष एकजुट हुनुपर्ने बताए।
शाहीले लोकतन्त्रमा सकारात्मक कामको समर्थन र गलत कार्यको विवेकपूर्ण आलोचना दुवै आवश्यक रहेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणका लागि सरकार, प्रतिपक्ष, नागरिक समाज र आम नागरिकबीच सहकार्य अपरिहार्य रहेको धारणा राखेका छन्।






















