जोडिनुहोस
  • होमपेज
  • लाङटाङ ट्रेल रन २०२६ मिलन कुलुङ र अन्जुली गुरुङ च्याम्पियन

लाङटाङ ट्रेल रन २०२६  मिलन कुलुङ र अन्जुली गुरुङ च्याम्पियन

हिमाली भूगोल, चुनौतीपूर्ण ट्रेल र प्राकृतिक सौन्दर्यबीच सम्पन्न लाङटाङ ट्रेल रन २०२६ को उपाधि पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अन्जुली गुरुङले जितेका छन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने लाङटाङको क्यान्जेन गुम्बादेखि स्याफ्रुबेँसीसम्मको ३२ किलोमिटर दूरीमा आयोजित प्रतियोगितामा नेपाल तथा विदेशका खेलाडीसहित कुल १०६ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये १८ जना महिला र ८८ जना पुरुष खेलाडी थिए।

प्रतिस्पर्धात्मक दौडमा पुरुषतर्फ मिलन कुलुङले उत्कृष्ट प्रदर्शन गर्दै २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा निर्धारित दूरी पूरा गरी उपाधि आफ्नो नाममा लेखाए।

पुरुषतर्फकै प्रतिस्पर्धामा धीरबहादुर बुढा २ घण्टा १८ मिनेट ४७ सेकेन्डका साथ दोस्रो स्थानमा रहे। विजेता मिलन र धीरबहादुरबीचको समयान्तर केवल दुई मिनेटको हाराहारीमा रह्यो। विशाल राईले २ घण्टा २० मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। शीर्ष तीन खेलाडीबीचको प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक बनेको आयोजकले जनाएको छ।

महिलातर्फ अन्जुली गुरुङले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। कठिन हिमाली ट्रेलमा निरन्तर गति कायम राख्दै उनले प्रतिस्पर्धीलाई पछि पारिन्। सुरक्षा तामाङले ४ घण्टा ५९ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गरिन्।

त्यस्तै, अस्ट्रियाकी खेलाडी आना लेना फर्टनरले ५ घण्टा ०९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान सुरक्षित गरिन्। विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई थप अन्तर्राष्ट्रिय स्वरूप दिएको आयोजकको भनाइ छ।

लाङटाङ क्षेत्र नेपालको प्रमुख पदयात्रा तथा साहसिक पर्यटन गन्तव्यमध्ये एक मानिन्छ। हिमाल, स्थानीय संस्कृति र चुनौतीपूर्ण भौगोलिक बनावटका कारण यहाँ आयोजना हुने ट्रेल रन प्रतियोगिताले खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँदै आएको छ।

आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा विभिन्न उमेर समूहका अनुभवी तथा उदाउँदा धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रतियोगितामार्फत स्थानीय स्तरमा खेल पर्यटनको विकास, अन्तर्राष्ट्रिय समुदायमा लाङटाङ क्षेत्रको प्रचारप्रसार तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखिएको छ।

लाङटाङ ट्रेल रनको यो दोस्रो संस्करण हो। पहिलो संस्करणपछि प्राप्त सकारात्मक प्रतिक्रिया र खेलाडीको बढ्दो आकर्षणका कारण प्रतियोगिता निरन्तरता दिइएको आयोजकले जनाएको छ। आगामी वर्षहरूमा अझ बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउँदै प्रतियोगितालाई विस्तारित गर्ने योजना पनि आयोजकको छ।

हिमाली भूगोलमा आयोजित यस प्रकारका ट्रेल रन प्रतियोगिताले नेपाललाई साहसिक खेलकुदको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। लाङटाङ ट्रेल रन २०२६ पनि त्यही अभियानको एउटा महत्त्वपूर्ण कडीका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।