देश
नेपाल–भारत विकास सहकार्य अन्तर्गत बारा प्रसौनीमा विद्यालय र पुस्तकालय भवनको शिलान्यास सम्पन्न

नेपाल–भारत विकास सहकार्य अन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य सोमवारदेखि औपचारिकरूपमा शुरू गरिएको
छ ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीणा र प्रसौनी गापाध्यक्ष विनोदप्रसाद जयसवालले आज संयुक्तरूपमा भवनको शिलान्यास गरेका थिए ।
भारत सरकारको अनुदान सहयोगमा करीब चार करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालन भइरहेको हो । परियोजना अन्तर्गत तीन तले दुईवटा भवन निर्माण गरिनेछ, जसमा १२ वटा अतिरिक्त कक्षाकोठा, क्यान्टिन, भोजनालय, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला स्थापना गरिनेछ ।

कार्यक्रममा महावाणिज्यदूत मीणाले परियोजनाले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । उनले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम नेपाल–भारत विकास साझेदारीको महŒवपूर्ण अङ्ग भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा भारत सरकार निरन्तर सहयोगरत रहेको
बताए ।
हाल मधेस प्रदेशमा भारत सरकारले ८७ वटा परियोजना स्वीकृत गरेकामा ६१ वटा सम्पन्न भइसकेका छन् भने २६ वटा कार्यान्वयनका चरणमा छन् । तीमध्ये ५२ वटा परियोजना शिक्षा क्षेत्रसँग सम्बन्धित छन् । बारा जिल्लामा स्वीकृत चार परियोजनामध्ये तीनवटा सम्पन्न भइसकेका छन् भने एउटा निर्माणाधीन अवस्थामा रहेको
छ ।
यसैगरी, भारत सरकारले हालसम्म नेपालभर एक हजार ४९ वटा एम्बुलेन्स र ३८१ वटा विद्यालय बस उपलब्ध गराएको छ । मधेस प्रदेशमा २३२ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस तथा बारा जिल्लामा ४० वटा एम्बुलेन्स र छवटा विद्यालय बस वितरण गरिएको जानकारी गराइएको थियो ।
हाल सो विद्यालयमा करीब २,४०० विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माणपछि शैक्षिक पूर्वाधार सुदृढ भई विद्यार्थीहरूले सुरक्षित तथा आधुनिक वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमका अध्यक्ष गापाध्यक्ष जयसवालले निर्माणाधीन भवनले स्थानीय शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूलाई आधुनिक र सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराउन यो परियोजना अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भारत सरकारप्रति आभार व्यक्त गरे । साथै, निर्माण कार्य समयमैं सम्पन्न गरी प्रभावकारीरूपमा सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपाध्यक्ष किरणदेवी साह, प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलगायत स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको सहभागिता थियो ।






















