जोडिनुहोस
  • होमपेज
  • नासा सेक्युरिटिजको ‘नासा एक्स सेल्फ सर्भिस एप’ अपग्रेड, डिजिटल लगानी अनुभव अझ स्मार्ट र सुरक्षित

नासा सेक्युरिटिजको ‘नासा एक्स सेल्फ सर्भिस एप’ अपग्रेड, डिजिटल लगानी अनुभव अझ स्मार्ट र सुरक्षित

नासा सेक्युरिटिजले आफ्नो डिजिटल ट्रेडिङ तथा लगानी प्लेटफर्म ‘नासा एक्स सेल्फ सर्भिस एप’ को अपग्रेडेड संस्करण सार्वजनिक गरेको छ। कम्पनीले यसलाई आधुनिक लगानीकर्ताको आवश्यकता अनुसार अझ स्मार्ट, छिटो र सुरक्षित बनाइएको जनाएको छ।

नेपालको पूँजी बजारमा विश्वासिलो नामका रूपमा परिचित नासा सेक्युरिटिजले डिजिटल रूपान्तरण र लगानीकर्ता सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नयाँ संस्करण ल्याएको हो। नयाँ एपले प्रयोगकर्तालाई सहज ट्रेडिङ, सरल नेभिगेसन र उन्नत बजार विश्लेषणका सुविधा उपलब्ध गराउनेछ।

अपग्रेड गरिएको एपमा पूर्ण रूपमा नयाँ प्रयोगकर्ता इन्टरफेस (यूआई), उन्नत अर्डर प्लेसमेन्ट प्रणाली, बायोमेट्रिक लगइन, एएमओ अर्डर सुविधा, टिकट जेनेरेसन सिस्टम, हिटम्याप्स र मोबाइल चार्टिङ टुल्स जस्ता सुविधा समावेश गरिएका छन्।

नयाँ यूआईले छिटो नेभिगेसन र सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसले लगानीकर्ता तथा सक्रिय ट्रेडर दुवैका लागि आवश्यक जानकारी न्यून चरणमै पहुँचयोग्य बनाउनेछ।

सुरक्षालाई ध्यानमा राख्दै एपमा फिंगरप्रिन्ट र फेस रिकग्निसनमार्फत लगइन गर्न मिल्ने बायोमेट्रिक सुविधा थपिएको छ। यसले पासवर्डमा निर्भरता घटाउँदै छिटो र सुरक्षित पहुँच सुनिश्चित गर्नेछ।

त्यस्तै, एएमओ (अफ्टर मार्केट अर्डर) सुविधामार्फत बजार बन्द भएपछि पनि खरिद–बिक्री आदेश राख्न सकिने व्यवस्था गरिएको छ। यसले लगानीकर्तालाई रणनीतिक रूपमा निर्णय लिन थप सहज बनाउने अपेक्षा गरिएको छ।

ग्राहक सेवामा सुधार ल्याउन टिकट जेनेरेसन प्रणाली पनि थपिएको छ, जसबाट प्रयोगकर्ताले समस्या, अनुरोध वा गुनासो सिधै एपमार्फत दर्ता गर्न सक्नेछन्।

बजार विश्लेषणलाई सरल बनाउन हिटम्याप्स सुविधा समावेश गरिएको छ, जसले टप गेनर, लुजर, सेक्टर ट्रेन्ड र मार्केट सेन्टिमेन्टलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्छ।

साथै, मोबाइल चार्टिङ टुल्समार्फत प्रयोगकर्ताले एपमै उन्नत प्राविधिक विश्लेषण गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।

नयाँ ‘नासा एक्स सेल्फ सर्भिस एप’ एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध रहेको छ। कम्पनीले हालका प्रयोगकर्तालाई एप अपडेट गर्न तथा नयाँ प्रयोगकर्तालाई दर्ता गरी सेवा सुरु गर्न आग्रह गरेको छ।