जोडिनुहोस
  • होमपेज
  • अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने तयारी

अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने तयारी

काठमाडौं । नेपालमा आउने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित गर्न अध्यागमन विभागले नयाँ ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ। विभागका अनुसार यो प्रणालीले पर्यटकको सुरक्षा सुनिश्चित गर्ने, सूचना प्रवाह सहज बनाउने र अपराध नियन्त्रणमा सहयोग पुर्‍याउनेछ।

महानिर्देशक रामचन्द्र तिवारीले विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने भन्दै आगामी जनवरी १ देखि उपत्यकाका तारे होटलहरूमा प्रणाली लागू हुने बताए। देशभर प्रणाली लागू हुने मिति भने फाल्गुन १७ तय गरिएको छ।

तिवारीले भने, “हामीले हरेक नेपाली नागरिकको अवस्थाबारे जानकारी राख्ने जस्तै, नेपाल आउने विदेशी नागरिकहरूको अवस्थाबारे पनि राज्यलाई जानकारी हुनु आवश्यक छ। जनवरी १ देखि कुनै पनि विदेशी नागरिक आएपछि आफ्नो आवास अनिवार्य रूपमा घोषणा गर्नुपर्नेछ।”

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले यस प्रणालीले पर्यटकको सुरक्षा र तथ्याङ्क सङ्कलनमा सहयोग पुग्ने बताइन्। यद्यपि, होटल एसोसिएसन नेपालका महासचिव साजन शाक्यले जनवरी १ देखि कार्यान्वयन कठिन हुने भन्दै थप समय आवश्यक रहेको बताएका छन्।

अध्यागमन विभागले पहिलो चरणमा उपत्यकाका तारे होटलहरूमा र दोस्रो चरणमा देशभरका होटल, एयरलाइन्स, होमस्टे, ट्रेकिङ कम्पनी लगायत सबै सेवा प्रदायकमा यो प्रणाली अनिवार्य बनाउने योजना बनाएको छ। यस प्रणालीमार्फत विदेशी नागरिकहरूको आवास विवरण र गतिविधि सजिलै ट्र्याक गर्न सकिने विभागले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका