
ढोरपाटन (बागलुङ)।ढोरपाटनको मनमोहक पर्यटकीय स्थल बुकीपाटनमा पुग्न अब पर्यटकलाई सहज भएको छ। साह्रै साँघुरो र जोखिमपूर्ण गोरेटोमार्फत यात्रा गर्नुपर्ने चुनौती अन्त्य गर्दै हालै पदमार्ग, काठेपुल र विश्रामस्थल निर्माण गरिएको छ।
गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको रु २० लाख बजेटमा ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको हो। पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त पदमार्गको काम असारको पहिलो साता सम्पन्न भएको प्रमुख पारसिंह थापाले जानकारी दिए।
“पहिले साँघुरो बाटो हुँदा पर्यटक र गोठाला दुबैलाई जोखिम थियो, अब नयाँ पदमार्ग, विश्रामस्थल र काठेपुल बनेपछि यात्रा सुरक्षित र सहज भएको छ,” थापाले बताए।
बुकीपाटन समुन्द्र सतहदेखि करिब ४,५०० मिटर उचाइमा अवस्थित छ। परम्परागत रूपमा गोठालाहरूको बसोबास हुने यो क्षेत्रमा अहिले पर्यटकको चहलपहल बढेको छ। गत वर्षदेखि बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको होटल व्यवसायी जीवन अदैले बताए।
उनका अनुसार पर्यटकलाई लक्षित गर्दै गर्पाछेडामा गोठस्टे सेवा पनि सुरु गरिएको छ। तीन स्थानमा काठेपुल र तीन स्थानमा विश्रामस्थल निर्माण गरिएको छ। पर्यटकीय गतिविधि बढेसँगै टीकाधार, फागुने र गर्पाछेडालगायत आसपासका क्षेत्र पनि पर्यटकको गन्तव्य बन्दै गएका छन्।