जोडिनुहोस
  • होमपेज
  • भारतको “अपरेशन सिन्दूर”: पहलगाम आतङ्कवादी हमलाको जवाफमा निर्णायक कारबाही

भारतको “अपरेशन सिन्दूर”: पहलगाम आतङ्कवादी हमलाको जवाफमा निर्णायक कारबाही

 भारत सरकारले आज बिहान “अपरेशन सिन्दूर” को माध्यमबाट सीमापार आतङ्कवादी पूर्वाधारमाथि लक्षित सैन्य कारबाही गरेको छ। यो कारबाही अप्रिल २२ मा जम्मू र कश्मीरको पहलगाममा भएको भीषण आतङ्कवादी हमलाको जवाफस्वरूप गरिएको हो, जसमा एक नेपाली नागरिकसहित २६ जना पर्यटकको ज्यान गएको थियो।

विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “भारतले आफ्नो अधिकार प्रयोग गर्दै सीमापार आक्रमण विरुद्ध आकलित, आनुपातिक र जिम्मेवारपूर्ण प्रतिक्रिया दिएको छ।” उनका अनुसार “अपरेशन सिन्दूर” आतङ्कवादका संरचनामाथि लक्षित रही भारतमा पठाइने सम्भावित आतङ्ककारीहरुलाई पनि रोक्ने उद्देश्यसहित सम्पन्न गरिएको हो।

अप्रिल २२ को दिन लश्कर–ए–तैयबासँग जोडिएका आतंककारीहरुले पर्यटकमाथि हमला गरेपछि भारतमा तीव्र आक्रोश फैलिएको थियो। हमला यति बर्बर थियो कि अधिकांश पीडितलाई परिवारको सामुन्ने नजिकैबाट गोली हानी हत्या गरिएको थियो। यस हमलाको जिम्मा ‘द रेसिस्टेन्स फ्रन्ट’ (TRF) नामक समूहले लिएको छ, जुन लश्कर–ए–तैयबाको मोर्चा हो।

भारतले संयुक्त राष्ट्र संघलाई यस समूहको बारेमा पहिले नै जानकारी गराइसकेको थियो। पाकिस्तानको दबाबमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को अप्रिल २५ को विज्ञप्तिबाट TRF सम्बन्धी प्रसङ्ग हटाइएको उल्लेख गर्दै भारतले अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानको भूमिका प्रति पनि प्रश्न उठाएको छ।

विदेश सचिव मिस्रीले पाकिस्तानमा रहेका आतङ्कवादी मोड्युलहरुले भारत विरुद्ध थप हमलाको तयारी गरिरहेको गुप्तचर सूचनाको पनि खुलासा गरे। उनका अनुसार पाकिस्तानले हमलाको दोष नस्वीकार्ने, भ्रम सिर्जना गर्ने र कारबाही गर्न अस्वीकार गर्ने प्रवृत्ति दोहोर्याएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को पछिल्लो वक्तव्य उद्धृत गर्दै मिस्रीले भने, “दोषी, योजनाकार र सहयोगीलाई जवाफदेही बनाउने आवश्यकता छ।” यही सन्दर्भमा भारतको कारबाहीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यायोचित ठहर गरिएको छ।

विदेश सचिवसँगै उपस्थित रहेकी कर्णेल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंहले अपरेशन सिन्दूर सम्बन्धी सैन्य विवरण सार्वजनिक गर्नेछन।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका