जोडिनुहोस
  • होमपेज
  • ‘माथागढी पार्क’ स्थानीय सरकारलाई हस्तान्तरण

‘माथागढी पार्क’ स्थानीय सरकारलाई हस्तान्तरण

पाल्पा। पाल्पा जिल्लाको माथागढी गाउँपालिका–५ मा अवस्थित ऐतिहासिक माथागढी उद्यान पार्क निर्माण सम्पन्न भएपछि स्थानीय माथागढी गाउँ सरकारलाई हस्तान्तरण गरिएको छ। नेपाली सेना मध्यपश्चिम हेक्डक्वाटर बुटवलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यो उद्यानको स्वामित्व पृतनापति उपरथि प्रेमबहादुर पुनले गाउँपालिका अध्यक्ष यमबहादुर चिदीलाई हस्तान्तरण गरेका हुन्।

करिब आठ लाख रुपैयाँको लागतमा नेपाली सेनाले निर्माण गरेको यो गढी तत्कालीन भूरे राजाले बनाएको मानिन्छ। यद्यपि, भूरे राजाको विस्तृत इतिहास अज्ञात भए पनि स्थानीय बुद्धिजीवीहरूका अनुसार पाल्पाका सेन राजाहरूमध्येका कुनै राजाले यस स्थानमा गढी बनाएर बसेको र पछि त्यहाँबाट गएको भन्ने भनाइ छ। राजाले अचानक यो ठाउँ छोडेर गएपछि उनी उडेर गएको किंवदन्ती स्थानीय ज्येष्ठ नागरिकहरूमा प्रचलित छ।

नेपाल अंग्रेज युद्धको समयमा तत्कालीन कर्णेल उजीरसिंह थापाले दक्षिण पूर्वी भागबाट हुनसक्ने अंग्रेज फौजको सम्भावित आक्रमणबाट बचाउन यस गढीलाई बलियो बनाई तीन सय जनाको सैनिक टुकडी तैनाथ गरेको इतिहासकारहरू बताउँछन्। दक्षिण जीतगढीमा भएको असफलतापछि पाल्पा आक्रमण गर्ने क्रममा अंग्रेज फौज दक्षिण पूर्वी दिशाबाट आइरहेको हल्ला चलेपछि कर्णेल उजीरसिंहले यस किल्लालाई थप मजबुत बनाएका थिए। अंग्रेज फौजलाई बाटो देखाउने तत्कालीन पाल्पा राज्यका सल्लाहकार कनकनिधि तिवारी नदीमा नुहाउन गएको बेला मारिएपछि अंग्रेजहरूले बाटो पत्ता लगाउन नसक्दा यस गढीमाथि आक्रमण गर्न सकेनन्। जीतगढी र नुवाकोट गढीमा अंग्रेज फौजलाई रोक्न नसकेको अवस्थामा यो गढी वैकल्पिक प्रतिरक्षा किल्लाको रूपमा स्थापित भएको मानिन्छ। अध्यक्ष चिदीका अनुसार यहाँ ठूलो कडावाला तमौरामा तत्कालीन युद्धमा प्रयोग हुने धनुष, काँडा र तरवार जस्ता युद्ध सामग्रीहरू अझै पनि देख्न सकिन्छ। नजिकैको झुम्सा खोलाको ढुङ्गा प्रयोग गरी गढी निर्माण गरिएको र यसको वरिपरि करिब चार वटा ट्रेन्च (गाली) र क्रोलिङ ट्रेन्च (घिस्रिने नाली) रहेको उनले बताए। नेपाल अंग्रेज युद्धपछि पनि विसं २००७ मा नेपाली सेना यस गढीमा बसेको थियो।

सांस्कृतिक रूपमा पनि यस गढीको विशेष महत्व छ। किंवदन्ती अनुसार स्थानीयको सपनामा शक्तिस्वरुपिणी कालीले यस स्थानमा बस्ने इच्छा व्यक्त गरेकी थिइन्। यदि उनी साच्चिकै शक्ति हुन् भने त्यहाँ रहेको ठूलो चिलाउनेको रुखलाई सोही रात चट्याङले नष्ट गरी प्रमाणित गर्न र आफूले मन्दिर स्थापना गर्ने भाकल गरेपछि सोही रात चट्याङले रुख ढलेको र त्यसपछि यस स्थानमा माथागढी कालिका देवीको मन्दिर स्थापना भएको जनविश्वास छ। हालसम्म पनि यहाँ देवीको शक्ति पूजा गरिन्छ।

सेनाले अहिले पार्क निर्माण गरी संरक्षण गर्न भन्दै स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो। गढी पार्क हस्तान्तरण गर्दै पृतनापति पुनले ऐतिहासिक स्थल र सम्पदाको संरक्षणमा नेपाली सेनाले निरन्तर सहयोग गर्दै आएको बताए। उनले स्थानीय नागरिक र नेपाली सेनाको सम्बन्ध थप सुमधुर बनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यो पार्कले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

गाउँपालिका अध्यक्ष चिदीले इतिहासलाई जीवन्त राख्न यस्ता सम्पदाको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउँदै पालिकाले ऐतिहासिक स्थलको संरक्षणमा सक्दो सहयोग गर्ने उल्लेख गरे। सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले आम नागरिकलाई पुराना सम्पदाको महत्व बुझाउँदै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन्। दि फेमस महेन्द्र दल गणका गणपति भूपेन्द्र गुरुङले जिल्लामा रहेका मठमन्दिरको संरक्षण र संवर्द्धनमा नेपाली सेनाले सहयोग गर्दै आएको बताए। नेपाल अंग्रेज युद्ध र नेपाल एकीकरणका बेला प्रयोग भएका गढी किल्लाको संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले सौन्दर्यीकरण गरिएको उनको भनाइ छ। सेनाले यहाँका ऐतिहासिक कोट, गढी र किल्लाको संरक्षण गरी इतिहास जोगाउने काम गरिरहेको छ। यसअघि सेनाले छ दिने पदयात्रामा निस्किएर यहाँका गढीहरूको अवलोकन तथा निरीक्षण गरेको थियो। यहाँ ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा जीतगढी किल्ला रहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका