
काठमाडौं – वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाल “सेवा सदन विशिष्ट सृजना सम्मान–२०८२” बाट सम्मानित भएका छन् । उनलाई नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले सम्मान गरेका थिए ।
सोही समारोहमा उनै दाहालद्वारा लेखिएको “जोडिएका कुरा” समालोचना–सृजना कृतिको लोकार्पण गरिएको थियो ।
कार्यक्रममा बैरागी काइँलाले शिक्षा, साहित्य र अर्थ साहित्यको कृति प्रकाशन गरेर र गीतहरू लेखेर दाहालले जुन योगदान नेपाली समाज र साहित्य फाँटमा दिएका छन् त्यो सन्देशपरक र विशिष्ट रहेको बताए । उनले भने, ‘बुधबार लोकार्पित “जोडिएका कुरा” कृतिमा पनि नयाँपन देखिन्छ । पाठकको लागि कृति उपयोगी हुने विश्वास मैले लिएको छु । यस अर्थमा सम्मान गर्ने सेवासदन र सम्मानित हुने दाहालजी बधाईको पात्र हुनुहुन्छ’ । कार्यक्रममा सोलुखुम्बुका दीपेन्द्र बस्नेतलाई पनि ‘साहित्य सेवी सम्मान’ प्रदान गरिएको थियो ।
यसैगरी कार्यक्रममा वरिष्ठ साहित्यकार रोचक घिमिरे, शैलेन्द्र साकार, चट्याङ मास्टर, राजेन्द्र केसी, ठाकुर शर्मा भण्डारी, प्रा. माधव घिमिरे, सन्ध्या पहाडी लगायतले दाहालको बहुआयामिक पाटोलाई चर्चा गरेका थिए । नेपाली साहित्य समालोचनाको फाँटमा “जोडिएका कुरा” कृतिले छुट्टै पहिचान दिने कुरामा वक्ताहरुले जोड दिएका थिए । लेखक प्रा.डा. दाहालले कृति जन्माउनुको कारण चर्चा गर्दै सम्मान गर्ने सेवा सदन र उपस्थित सबैप्रति आभार व्यक्त गरेका थिए ।
आर्थिक, सामाजिक, साँस्कृतिक, संचार क्षेत्रमा कार्यरत महानुभावहरुसहित राष्ट्रमा ख्याति आर्जन गरेका पाँच दर्जन भन्दा बढी साहित्यकारहरुको उपस्थित रहेको थियो । वर्तमान सन्दर्भका विषयमा चर्चित एक दर्जन कविहरुले कविता वाचन गरेका थिए । चर्चित गायिका रीतु कँडेल, अञ्जु गौतम र सुमित खड्काले आकर्षक गीतहरू प्रस्तुत गरेका थिए । वरिष्ठ साहित्यसेवी रोचक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको शर्मिला तिमिल्सिनाले उद्घोषण गरेकी थिइन् भने स्वागत मन्तव्य कल्पना गिरीको रहेको थियो । सेवा सदन विद्यालय बतीसपुतलीले आयोजना गरेको सो कार्यक्रममा शिक्षिका शर्मिला तिमिल्सिनालाई पनि पुरस्कृत गरेको थियो ।