जोडिनुहोस
  • होमपेज
  • ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेरा नासिए

ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेरा नासिए

गलेश्वर (म्याग्दी)। विगत तीन दशकयता म्याग्दीको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरू नासिएका छन्। तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण गर्न लगाएका चारओटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरू पनि नासिएको स्थानीयले बताएका छन्।

स्थानीयले पानीको स्रोतका रूपमा निर्माण गरेका २० ओटाभन्दा बढी कुवा र पँधेराहरू गाउँगाउँमा मोटरबाटो र विकास पूर्वाधारहरू निर्माण गर्ने क्रममा नासिएको स्थानीय ८५ वर्षीय बेदप्रसाद उपाध्यायले बताए। “विसं २०५० सम्म गौश्वारा, तमाने, सानालेख, भकुण्डे, फापरखेत, रोहोटे, खबरा, बगरफाँटलगायत ठाउँमा रहेका कुवा र पँधेराको हाल नामोनिसान मेटिएको छ। बाँकी रहेका पुराना केही कुवा र पँधेरा पनि पुरिन थालेका छन्,” उनले भने, “खानेपानीको सङ्कट बढ्दै गएको छ तर सयौँ वर्षपहिले निर्माण गरिएका कुवा र पँधेरा भने नासिँदै गएका छन्। यिनको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो।”

बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता, जैविक विविधता र ऐतिहासिक सम्पदाले सम्पन्न छ। यहाँ पर्यटन प्रवर्द्धनका लागि मोटरबाटो लगायत संरचना बन्न थालेपछि कुवा, पँधेरा लगायतका प्राचीन सम्पदा भने नासिँदै गएको समाजसेवी भीमबहादुर पौडेलको भनाइ छ।

ज्यामरुककोटवासी कुवाको पानीमा भर पर्न छोडेको तीन दशक भइसकेको छ। अस्तित्व बाँकी रहेका केही कुवा पनि जीर्ण अवस्थामा छन्। पानीको हाहाकार हुने अवस्था आइरहेका बेला यस्ता स्रोतहरूको संरक्षणमा लाग्न आवश्यक रहेको शिक्षक टीकाबहादुर कार्कीको भनाइ छ।

बेनी नगरपालिका—२ खबराका चन्द्रबहादुर कार्की विकासका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभाव र अन्य प्राकृतिक सम्पदाको संरक्षण पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताउँछन्। कुवा र पँधेरा मात्रै होइन, गाउँघरबाट देवल, मूर्ति, चौतारी, पोखरी, मठ, मन्दिर, ढिकी, जाँतो, घट्ट, ठेकाठेकी, घुमाउने घर, ढुङ्गेधारालगायत रैथाने सीप र ऐतिहासिक सम्पदा हराइरहेकामा उनले चिन्ता व्यक्त गरे।