
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी फेरि विवादमा तानिएको छ। बालुवाटार क्षेत्रमा साइकल चढेर घर फर्किरहेका एक व्यक्तिसँग नगरप्रहरीको दुर्व्यवहार सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना चुलिएको छ। भिडियोमा देखिएअनुसार प्रहरीले साइकल खोस्ने प्रयास भएको देखिन्छ। घटनापछि इन्स्पेक्टर शम्भु विष्टलाई कारबाही गरिएको छ। महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अमर्यादित व्यवहार भएको स्वीकार्दै, घटनाको जिम्मेवारी लिएका छन्।
महानगरले घटनास्थलमा नगरप्रहरी पठाउनुको कारण स्थानीयको गुनासो र कवाड व्यवसायीहरूबाट आएको आवाज रहेको बताएको छ। ती साइकल यात्री पनि कवाड संकलनकै लागि निस्किएको स्रोतको दाबी छ । उक्त घटनाले फुटपाथ र साना व्यवसायीमाथि महानगरको कडा कार्यशैली पुनः सतहमा ल्याएको छ। विगतमा पनि मकै बेच्ने, पानीपुरी व्यवसायीदेखि ह्वीलचियर प्रयोगकर्तासम्म नगरप्रहरीको दुर्व्यवहारमा परेका थिए।
गत दुई वर्षमा मात्र ५४९ वटा ठेलागाडा र ७१४ वटा साइकल नगरप्रहरीले जफत गरिसकेको तथ्यांक महानगर स्रोतले जनाएको छ। यसले साना व्यवसायी र साधारण जनताप्रति महानगरको रवैया कस्तो छ भन्ने प्रश्न उठाएको छ।