
झापा। मनसुन सुरु हुनुअगावै पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गर्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
एसियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ। कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले डाइभर्सनको काम चाँडो सक्न आज निर्माण ठेक्का लिएको कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए।
मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको उनको भनाइ छ। “डाइभर्सन बनाइएका स्थानमा खाल्डाखुल्डी भएकाले वर्षाको समयमा विपद् र दुर्घटना निम्तिने ठूलो जोखिम हुन सक्छ,” उनले भने, “राजमार्गका साना पुल र कल्भर्टका काम चाँडो सकेर मुख्य राजमार्गबाटै यातायात सञ्चालन गर्नुपर्छ भनेर हामीले भनिरहेका छौँ।”
बर्खामा पूर्वपश्चिम राजमार्गमा यातायात नरोकिने गरी मुख्य सडकबाटै सञ्चालन गर्न सकिने वातावरण तयार पारिने जनाउँदै आयोजना प्रमुख पन्तले निर्माणको ठेक्का लिएको कम्पनीले गरिरहेको कामको प्रगति अनुगमन भइरहेको बताए। हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। निर्माणमा ढिलाइ नगर्न पटकपटक पत्राचार गरिरहँदा पनि निर्माण कम्पनीको प्रगति सन्तोषजनक नरहेको उनले बताए।
सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षात्मा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम बढेको भन्दै जनगुनासो आइरहेको छ। आयोजना प्रमुख पन्तले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्या समाधान गर्ने तयारी रहेको बताए। वर्षात्को समयमा पनि सडकको काम नरोकिने जानकारी उनले दिए।