समाचार
संविधान र कानुनको रक्षा गर्ने भूमिका सत्तापक्षको मात्रै होइन, प्रतिपक्षको पनि हो : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूहरू प्रतिपक्षमा रहे पनि सत्तापक्षजस्तै भूमिका निर्वाह गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। संविधान, ऐन कानुन, र प्रणाली जोगाउने जिम्मेवारीले यस्तो अवस्था आएको उनको भनाइ छ । चितवनस्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, “हामी प्रतिपक्ष हौं, तर संविधान र कानुनको रक्षा गर्ने भूमिका सत्तापक्षको मात्रै होइन, हामीले पनि खेल्नैपर्ने अवस्था छ।”
माओवादी केन्द्रले केही दिन भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राखे पनि पछि नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै अवरोध खोल्यो। यही सहमतिका कारण पार्टीभित्रै आलोचना भइरहेका बेला प्रचण्डले स्पष्ट पारे, “यो कदम परिपक्व र जिम्मेवार सोचबाट आएको हो।” उनले थपे, “बजेट पास, संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, नागरिकता ऐन र शान्ति प्रक्रियाका बाँकी कामहरू जस्ता विषयहरूलाई टार्न सकिँदैन। त्यसैले ३० दिनभित्र छानबिन समिति गठन गरेर अघि बढ्ने प्रतिबद्धतासँगै संसद अवरोध खुलाइएको हो।”
प्रचण्डले आलोचकहरूलाई बालसुलभ सोच भएको टिप्पणी गर्दै भने, “दुई बुँदे सहमति नगरेको भए हुन्थ्यो भन्ने धारणा बचकाना लाग्छ। उनीहरू नेपाली राजनीतिको यथार्थ बुझ्दैनन्।” उनको भनाइमा, माओवादीले परिवर्तनको नेतृत्व गर्ने पार्टी भएकाले संवैधानिक प्रक्रिया अगाडि बढाउने दायित्व पनि आफूहरूकै काँधमा छ। यही जिम्मेवारी बोधका साथ संसद अवरोध हटाइएको हो।
प्रचण्डले रास्वपा लक्षित मोरल लेसन पनि दिएका हुन् । रास्वपाले संसदमा अपरिपक्व , घमण्डी र अराजक शैली देखाउँदै संघीय संसदलाई सडक बनाउन खोजेपछि अहिले रास्वपाको नेतृत्व र अराजक गतिविधिप्रति माओवादी केन्द्र्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) आक्रोसित भएका छन् ।