जोडिनुहोस
  • होमपेज
  • हुरी र असिनापानीले बैतडीमा एक घाइते, भौतिक क्षति

हुरी र असिनापानीले बैतडीमा एक घाइते, भौतिक क्षति

बैतडी। बैतडीमा सोमबार बेलुका आएको हुरी र असिनापानीका कारण एक जना घाइते भएका छन् भने विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको प्रहरीले जनाएको छ।

हुरीले सिँगास गाउँपालिका–२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ। छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। टेकेन्द्रको टाउकोमा चोट लागेको छ।

प्रहरी निरीक्षक बडूका अनुसार सिँगास–५ खैरकोट, सल्याली र ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुर्‍याएको छ। पाटन नगरपालिका–८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ। उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको उनले बताए।

हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका–६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ। हुरीकै कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि अवरुद्ध बनेको थियो। डिलाशैनी–६ बाङ्गाबगरमा रुख ढलेर केहीबेर अवरुद्ध भएको राजमार्ग भने अहिले नियमित सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

दोगडाकेदार गाउँपालिका–४ का उमेश भट्टका अनुसार असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको छ। “एक्कासी आएको असिनापानीले वर्षे फलफूल र तरकारीमा क्षति पुगेको छ,” उनले भने। हुरीका कारण जिल्लाको विद्युत् सेवा पनि अवरुद्ध भएको र सञ्चालनको प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिए। यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पुर्‍याएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका