
डुम्रे (तनहुँ)। तनहुँका किसान अहिले चैते धान थन्क्याउने चटारोमा छन्। मनसुन सुरु भएसँगै उनीहरू बर्खे धान रोपाइँको तयारीमा जुटेका छन्।
जिल्लाका अधिकांश सिँचित फाँटमा वर्षमा दुई पटक धान खेती गरिन्छ। भानु, व्यास, म्याग्दे र आँबुखैरेनीका धेरै फाँटमा चैते धानखेती हुने गरेको छ। कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारका अनुसार जिल्लामा कुल ९ हजार ४६४ हेक्टर क्षेत्रफलमा धानखेती हुनेमा करिब १ हजार ८०२ हेक्टरमा चैते धान लगाइन्छ।
गत आर्थिक वर्ष २०८०/८१ मा तनहुँमा ३७ हजार ९४२ मेट्रिक टन धान उत्पादन भएको थियो, जसमा ८ हजार ७०४ मेट्रिक टन चैते धान उत्पादन भएको थियो। परियारका अनुसार सिँचाइ सुविधा भएका क्षेत्रहरूमा उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ।
भानुको चुँदी, खहरे, सतीघाट; व्यासको घाँसीकुवा, साँगे, कलेस्ती, सिसाघाट; म्याग्देको थर्पु, गुणादी, पसले, सेरा; शुक्लागण्डकीको ढोरफिर्दी; र भिमादको बुडुवा फाँटलगायतका क्षेत्रमा व्यापक रूपमा धानखेती हुने गरेको छ।
चैते धान विशेषतः चिउरा उत्पादनका लागि प्रयोग हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। चालु आर्थिक वर्षको उत्पादन विवरण अझै सङ्कलन भइरहेको जनाइएको छ।