समाचार
सिंहदरबारमा माओवादी केन्द्र र नेकपा एस नेताबीच भेटवार्ता, भिजिट भिसा समिति लगायत विषयमा छलफल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूबीच सिंहदरबारमा आज महत्वपूर्ण भेटवार्ता भएको छ।
छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल तथा वरिष्ठ नेता वेदुराम भुसाल सहभागी थिए।
नेकपा एसका नेता घनश्याम भुसालका अनुसार, भेटमा संसदमा जारी गतिविधि, विचाराधीन विधेयक र बजेटबारे विस्तृत छलफल भएको हो। साथै, सरकारद्वारा गठित भिजिट भिसा प्रकरण छानबिन समितिबारे पनि विचारविमर्श गरिएको बताइएको छ।
नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डेले भने, “भिजिट भिसा प्रकरण संसदभित्र हाम्रो प्रमुख संघर्षको विषय हो। सरकारले अहिले समिति गठन गरेको छ, त्यसबारे पनि दुई दलबीच संसदभित्रको रणनीतिबारे छलफल भयो।”
गत दिन सरकारको निर्णय अनुसार पूर्व मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समितिप्रति असन्तुष्टि जनाउँदै आज पनि संसद बहिष्कार र अवरोध जारी राखेका छन्।