जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने सरकारको योजना- मन्त्री पौडेल

स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने सरकारको योजना- मन्त्री पौडेल

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संसदमा सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार ल्याउने दीर्घकालीन योजना प्रस्तुत गरेका छन् । मन्त्री पौडेलका अनुसार सरकारले पाँच वर्षभित्रमा १२ हजार नयाँ दक्ष स्वास्थ्य जनशक्ति थप्ने योजना बनाएको छ । प्रत्येक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रियाको थालनी भएको पनि उनले बताए ।

संसदमा मन्त्रालयको बजेट सम्बन्धी छलफलका क्रममा मन्त्री पौडेलले देशका सातै प्रदेशमा विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्ने, जनस्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसम्म पुर्‍याउने, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने लगायतका महत्त्वपूर्ण योजनाहरु प्रस्तुत गरे ।

मन्त्री पौडेलले जलन उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर जस्ता विशिष्ट सेवा सातै प्रदेशका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत उपलब्ध हुने व्यवस्था गरिएको जानकारी दिए । यसका लागि नयाँ आर्थिक वर्षको बजेटमा विशेष विनियोजन गरिएको छ ।

उनले ७३६ स्थानीय तहमा “म स्वास्थ्य, मेरो समुदाय स्वस्थ” कार्यक्रमअन्तर्गत एक (एक जना जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिनेछ । आयुर्वेद, योग, ध्यान र परम्परागत चिकित्सा प्रणाली मार्फत निरोगी जीवनशैली प्रवर्धन गरिनेछ । मानसिक स्वास्थ्य प्रवर्धन, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, र प्रजननसम्बन्धी रोगहरूका लागि स्थानीय तहमा सेवा विस्तार गरिनेछ । साथै १४ वर्षमुनिका किशोरीलाई एचपिभी खोप दिइने योजना पनि सार्वजनिक गरिएको छ ।

निर्माण सम्पन्न भएका आधारभूत अस्पतालहरु श्रावण १ गतेदेखि सञ्चालनमा ल्याइनेछ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा चिकित्सक र औजार उपकरणको व्यवस्था गरिनेछ । निर्माणाधीन अस्पतालहरूको शीघ्र सम्पन्नता र नयाँ अस्पतालको निर्माणका लागि रणनीतिक म्यापिङ भइरहेको जानकारी पनि मन्त्री पौडेलले दिए ।

उनले स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री पौडेलले प्रविधिको स्तरोन्नति र सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा स्वास्थ्य बीमामार्फत सञ्चालन गरिने जानकारी दिए । बीमितलाई सेवाप्रदायक अस्पतालमा सुलभ सुविधा, बक्यौता भुक्तानी र कानुनी सुधारसमेत गरिने उल्लेख गरे ।

मधेश प्रदेशमा मृगौला उपचार केन्द्र र काठमाडौंमा सुविधासम्पन्न न्युरो उपचार केन्द्र स्थापना गरिनेछ । भक्तपुरको छाती रोग अस्पताल र बुढानीलकण्ठको आयुर्वेद पञ्चकर्म केन्द्र सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ ।

त्यसैगरि कोशी, नारायणी, राप्ती, भेरी लगायतका ठूला संघीय अस्पतालहरूमा पूर्वाधार, औजार, उपकरण र जनशक्ति थप गर्न बजेट विनियोजन गरिएको छ । टेकुस्थित सरुवा रोग अस्पताल, पाटन मानसिक अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सुधार गरिनेछ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेटस्क्यान सेवा सञ्चालन गर्न साइक्लोट्रोन उत्पादनसहित बहुवर्षीय योजना अगाडि सारिएको छ । सरकारले आठ कडा रोगको उपचारमा थप सुविधा दिने निर्णय गरेको छ । विशेषगरी थारु समुदायमा देखा पर्ने सिकलसेल एनिमियाका लागि निःशुल्क औषधि र सहुलियतपूर्ण उपचार व्यवस्था गरिएको छ ।

नेपाल सरकारले अब श्रमिकको स्वास्थ्य सुरक्षालाई प्रमुख प्राथमिकता दिने जनाएको छ । मन्त्री पौडेलका अनुसार श्रमिक स्वास्थ्य सुरक्षालाई द्विपक्षीय श्रम सम्झौतामा समावेश गर्न लागिएको छ । साथै, विश्व स्वास्थ्य सङ्गठनसमक्ष रोजगारदाताको जिम्मेवारी सुनिश्चित गर्न प्रस्ताव लैजाने तयारी गरिएको छ ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकता दिँदै संरचना, सेवा, जनशक्ति, बीमा र प्रविधिमा समग्र विकास गर्न खोजिएको स्पष्ट गरे । प्रस्तुत योजनाहरू कार्यान्वयनमा आएमा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको आशा गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका