देश
भिजिट भिसा अनियमिततासँग गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको कांग्रेसको निष्कर्ष, गलत प्रचार नगर्न निर्देशन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा सम्बन्धी अनियमिततासँग गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको निष्कर्षमा नेपाली कांग्रेस पुगेको छ। सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सामाजिक सञ्जालमा फैलाइएका अफवाहका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग उचित नभएको ठहर गरेको हो।
बैठकपछिको पत्रकार भेटमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अध्यागमन विभागमा अख्तियारले गरेको छापामारीपछि उठेको विवादमा गृहमन्त्री निर्दोष रहेको बताए। “गृहमन्त्री लेखकले संसदभित्र र बाहिर स्पष्ट जवाफ दिइसक्नुभएको छ, उनको संलग्नताको कुनै प्रमाण छैन,” महतले भने।
भिजिट भिसा प्रकरणबारे बुझ्नै नखोजी राजीनामा माग गर्ने नेताहरूलाई बैठकमा आलोचना गरिएको प्रवक्ता महतले जानकारी दिए। विशेषगरी डा। शेखर कोइरालालगायत केही नेताहरूको व्यवहारप्रति असन्तुष्टि जनाइएको थियो। महतका अनुसार, अब नेताहरूले यथार्थ बुझेका छन् र यस्ता अभिव्यक्ति दोहोरिने छैनन्।
बैठकमा गृहमन्त्री लेखक स्वयंले घटनाको विस्तृत विवरण पेश गर्दै आफू यस प्रकरणमा कुनै पनि रूपमा संलग्न नभएको स्पष्ट पारेका थिए। पार्टीले उनको स्पष्टीकरणलाई विश्वास गर्ने निर्णय गर्दै दोषी ठहर हुनेहरूमाथि निष्पक्ष छानबिन र कारबाहीको माग गरेको छ।
कांग्रेसले यस विषयमा तथ्यभन्दा बाहिर गई गरिएको टिप्पणी र प्रचारप्रति सचेत रहन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरेको छ।