
रौतहट । रौतहटमा टिकटक भिडियो बनाउन जाने बहानामा १४ वर्षीय बालक कृष्णप्रसाद यादवको हत्या गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत उनीहरूको नाम सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार, बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा, २५ वर्षीय नागेन्द्र सहनीले कृष्णलाई टिकटक बनाउन जाने बहानामा फोन गरेर घरबाट बोलाएका थिए। कृष्णलाई मोटरसाइकलमा चाँदी खोलामा लगेर नागेन्द्र सहनी र साधु उपनामले चिनिने अर्को नागेन्द्र सहनीले हत्या गरेका थिए।
प्रहरी प्रमुख दिलिप घिमिरेका अनुसार, कृष्णप्रसादको छातीमा दुई राउन्ड गोली प्रहार गरिएको थियो। हत्यामा प्रयोग भएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित एक घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको छ।
यसैगरी, घटनामा प्रयोग गरिएको भारतीय नम्बर प्लेट (BR 05W 0137) भएको मोटरसाइकल गौरको एक वर्कशपमा टुक्रा–टुक्रा पारिएको अवस्थामा भेटिएको छ।
पक्राउ परेका चारैजनालाई जिल्ला अदालत रौतहटबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा खुलेको छ कि घटनामा व्यक्तिगत रिसिइबीको भूमिका रहेको छ। केही वर्ष अघि कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टामा नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको थियो, र त्यसपछि कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएको थियो। साथै, तीन वर्षअघि कृष्णका बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि पनि अपहरण मुद्दा दायर भएको छ।
प्रहरीका अनुसार, पुरानो रिसिइबी र दुश्मनीका कारण कृष्णलाई टिकटक बनाउने बहानामा बोलाएर हत्या गरिएको हो।