जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • हमासद्वारा गाजाका नेता मोहम्मद सिनवारको मृत्यु पुष्टि

हमासद्वारा गाजाका नेता मोहम्मद सिनवारको मृत्यु पुष्टि

जेरुसेलम– इजरायलको हवाई आक्रमणमा मारिएको तीन महिनाभन्दा बढी समयपछि हमासले आइतबार गाजामा आफ्ना प्रमुख नेता मोहम्मद सिनवारको मृत्यु भएको पुष्टि गरेको छ ।

प्यालेस्टिनी इस्लामवादी समूहले शनिबार जारी गरेका तस्बिरहरूमा उनलाई ‘सैन्य परिषद्का शहीद’ भनेर वर्णन गरिएका अन्य राजनीतिक र सैन्य नेताहरूसँगै देखाइएको छ ।

मोहम्मद सिनवार, हमासका वरिष्ठ नेता याह्या सिनवारका कान्छा भाइ थिए । इजरायलले याह्यालाई सन् २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको आक्रमणको मुख्य योजनाकारको रूपमा आरोप लगाएको थियो । हमासको इजरायलमाथिको उक्त आक्रमणले गाजा पट्टीमा हालसम्म चलिरहेको युद्धलाई भड्काएको थियो ।

कमान्डर मोहम्मद देइफको मृत्युपछि मोहम्मद सिनवारले अल–कसम ब्रिगेडको सैन्य परिषद्को नेतृत्व गरेको बताइएको छ । इजरायली सेनाले मध्य गाजाको खान युनिसस्थित युरोपेली अस्पताल मुनिको सुरुङमा उनको शव भेटिएको दाबी गरेको छ । सेनाले १३ मेमा उनलाई ‘मारेको’ घोषणा गरेको थियो ।

इजरायली तथ्याङ्कमा आधारित एएफपीको विवरणअनुसार सन् २०२३ अक्टोबरमा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए ।

त्यस आक्रमणमा कब्जा गरिएका दुई सय ५१ जना बन्धकमध्ये ४७ जना अझै गाजामा रहेको र करिब २० जना जीवित रहेको विश्वास गरिन्छ ।

इजरायलको जवाफी आक्रमणले अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार तीन सय ७१ प्यालेस्टिनीको ज्यान लिएको छ ।

यो तथ्याङ्क हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले दिएको हो, जसलाई संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय निकायहरूले पनि भरपर्दो मानेका छन् । रासस