जोडिनुहोस
  • होमपेज
  • उज्वल थापाको जीवनमा आधारित ‘दिमाग घोच्ने मान्छे’ अब डीगो OTT मा उपलब्ध

उज्वल थापाको जीवनमा आधारित ‘दिमाग घोच्ने मान्छे’ अब डीगो OTT मा उपलब्ध

नेपालका दूरदर्शी चिन्तक तथा राजनीतिक सुधारक स्व. उज्वल थापा को जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र “दिमाग घोच्ने मान्छे” अब आधिकारिक रूपमा डीगो (DGO) OTT प्लेटफर्ममा हेर्न सकिने भएको छ। निर्माण पक्षले यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश ‘उज्वल थापा फाउन्डेसन’ लाई प्रदान गरिने घोषणा गरेको छ।

यस पहलमार्फत उज्वल थापाले सुरु गर्नुभएका सामाजिक तथा नागरिक अभियानहरूलाई संस्थागत रूपमा निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिइएको छ। निर्माण टोलीका अनुसार यो वृत्तचित्र हेर्नु मात्र नभई समाज परिवर्तनको अभियानमा प्रत्यक्ष योगदान गर्ने अवसरसमेत हो।

“दिमाग घोच्ने मान्छे” ले उज्वल थापाको बाल्यकालदेखि अमेरिकामा उनले हासिल गरेको शिक्षा र त्यसपछि नेपाल फर्किएर उद्यमशीलता तथा वैकल्पिक राजनीतिक सोचमार्फत देश परिवर्तनका लागि गरेको संघर्षलाई गहिरो रूपमा प्रस्तुत गरेको छ। दुर्लभ भिडियो फुटेज, उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव समेटिएको यस वृत्तचित्रले समाजलाई प्रश्न गर्न र आफैंले जिम्मेवारी लिन सिकाउने एक प्रेरणादायी व्यक्तित्वको चित्रण गर्छ।

यो वृत्तचित्र केवल एक व्यक्तिको जीवनी मात्र नभई समृद्ध नेपालको सपना देख्ने हरेक नेपालीका लागि प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गरिएको छ। नेपाल तथा विश्वभर रहेका दर्शकहरूले डीगो (DGO) एपमार्फत यो वृत्तचित्र हेर्न सक्नेछन्। नेपालमा रु. १९९, अमेरिका र अष्ट्रेलियामा ४.९९ डलर र अन्य देशहरूमा २.९९ डलर शुल्क तोकिएको छ।

‘उज्वल थापा फाउन्डेसन’ उज्वल थापाका विचार र सपनालाई निरन्तरता दिन स्थापना गरिएको संस्था हो, जसले विशेषगरी युवा नेतृत्व विकास, वैकल्पिक राजनीति र नागरिक सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको छ। यस वृत्तचित्रबाट प्राप्त सहयोगले यी अभियानहरूलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।