
सप्तरी – सप्तरी, राजविराजकी एक महिला काखे छोरीसहित १० दिनदेखि बेपत्ता भएकी छन् । मोरङको जहदामा रहेको माइतमा रहेका साथीको विहेमा जान्छु भनी घरबाट निस्केकी राजविराज नगरपालिका वडा नं. ६ निवासी २३ वर्षिया अन्नु भनिने कल्पना चौधरी काखे छोरीसहित १० दिनदेखि वेपत्ता भएकी हुन् ।
मोरङको जहदा गाउँपालिका वडा नं. २ माइत भएकी कल्पना गत फागुन २९ गते बिहान ८ बजेतिर अढाई वर्षिया छोरी रोशनीलाई बोकेर माइक्रो चढी त्यसतर्फ प्रस्थान गरेकी थिइन् । घरमा उनले ससुरा प्रमोद चौधरी र श्रीमान बिरेन्द्र चौधरीलाई स्कुल पढ्ने अति निकटका एक साथीको विहेमा जान्छु भनी बताएकी थिइन् ।
कल्पनालाई उनकै श्रीमान र ससुरा प्रमोदले राजविराजको कुनौली मोडमा बिराटनगर जाने माइक्रो बसमा चढाएका थिए । त्यसको तीन घण्टापछी श्रीमती र छोरी पुगे नपुगेको बुझ्न फोनमा सम्पर्क गर्दा कल्पनाले आफू बिराटनगर पुगिसकेको र सिटि सफारी (ई–रिक्सा) चढेर घरतर्फ जाँदै गरेको बताएको श्रीमान विरेन्द्रको भनाई छ । तर त्यसपछी कल्पनाको मोवाइल (९८०५३५९१२१) स्वीच अफ् भएको श्रीमान विरेन्द्रले बताए ।
यसरी एकाएक श्रीमती बेपत्ता भएपछि विरेन्द्रले ससुराली पक्षसँग कुरा गर्दा कल्पना माइती नआएको जानकारी दिएका थिए । यो खबर सुनेयता श्रीमान विरेन्द्र निकै तनावमा परेका छन् । आफ्नी श्रीमतीसहित एक मात्र सन्तान रहेकी छोरी नै बेपत्ता भएपछि उनी श्रीमतीसहित छोरीको खोजी गरिदिन सबै निकायमा गुहार लगाइरहेका छन् ।
१० दिनदेखि कल्पना वेपत्ता भएपछी माइती पक्षसमेत मिलेर विरेन्द्रको परिवारले विराटनगर, सीमावर्ती भारतीय बजार जोगवनी तथा अन्य आफन्तजन र चिनजान भएका ठाउँ सबैतिर खोजि गर्दा समेत कल्पना फेला पर्न नसकेको परिवारजनको भनाई छ । यसका लागि उनीहरुले जिल्ला प्रहरी कार्यालय सप्तरीसहित, मोरङ प्रहरी, माइती नेपाल र भारतीय प्रहरीसहित सरोकारवाला सबै निकायमा उजुरी दिएका छन् । तर अहिलेसम्म कल्पना र अढाई बर्षिया छोरीको कुनै अत्तोपत्तो नलागेको विरेन्द्र बताउँछन् ।
विरेन्द्रका अनुसार साथीको विहेमा जान्छु भनी निस्केकी कल्पनाले सो दिन करिब तीन तोलाको सुनको तथा पाँच तोला जति चाँदीको गरगहना लगाएकी थिइन् । आफू काममा व्यस्त भएकाले कल्पनालाई सो दिन उनले एक्लै जान दिएका थिए ।
काखे छोरीसहित कल्पना हराएको सुचना पाए लगत्तै सप्तरी प्रहरीले भने खोजी तिव्र पारेको बताएको छ । हालसम्म सबै सरोकारवाला निकायमा सुचना गरिसकेको भन्दै खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बरबहादुर पुरीले बताए ।
यता विरेन्द्रले भने, कल्पनाले प्रयोग गर्ने मोवाइल सोही दिन दिउँसो ३ बजेदेखी स्विच अफ भएको बताएका छन् । उनले श्रीमतीसंग कुरा गर्दा छोरी सुतिरहेको भन्दै पछि कल गर्ने भनेर फोन काटेको र त्यसयता उनी सम्पर्कमा नआएको बताएका छन् । यसरी काखे छोरीसहित कल्पना हराउँदा विरेन्द्रसहित उनको परिवार र कल्पनाको माइतीपक्ष कुनै अप्रिय घटनाको आशंकामा चिन्तित भएका छन् । उनीहरुले कल्पनाको अवस्था पत्ता लगाउन सबैबाट सहयोगका लागि आग्रह गरेका छन् । फेला पार्ने महानुभावले नजिककैको प्रहरी चौकि वा श्रीमानको मोबाइल नं. ९८०४४१२१२७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।






















