
काठमाडौँ । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र आपसी सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल गरेका छन्।
आइएफसीका दक्षिण एसिया क्षेत्रका प्रमुख ग्रेगोरी स्मिथ र उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालबीच महासङ्घ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले सहकार्य र समन्वयका विभिन्न आयामबारे विचार आदानप्रदान गरेका हुन्।
भेटका क्रममा आइएफसीका प्रमुख स्मिथले नेपालको आर्थिक विकासमा वाणिज्य महासङ्घसँग सहकार्य गर्न आइएफसी सधैँ तयार रहेको बताए। उनले नेपालको निजी क्षेत्रलाई थप सक्षम बनाउने उद्देश्यले आइएफसीले ज्ञान साझेदारी, साना तथा मझौला उद्यमको क्षमता विकास र युवाहरूका लागि अर्थपूर्ण रोजगारीका अवसरहरू सुनिश्चित गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
महासङ्घका उपाध्यक्ष ढकालले यसअघि पनि आइएफसीसँगको सहकार्यमा साना तथा मझौला उद्यमसम्बन्धी महत्त्वपूर्ण कामहरू भएको स्मरण गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आइएफसीको सहयोगप्रति आभार व्यक्त गरे।
उपाध्यक्ष ढकालले भने, “सन् २०२२ मा महासङ्घ र अन्तरराष्ट्रिय वित्त निगमले संयुक्त रूपमा तयार पारेको ‘नेपालको निजी क्षेत्रको अवस्था’सम्बन्धी प्रतिवेदनलाई हामीले विशेष महत्त्व दिएका छौँ। उक्त अध्ययनले नेपालको निजी क्षेत्रका सबल पक्ष, चुनौती र सम्भावनाहरूलाई उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशनको भूमिका निर्वाह गरेको छ।”
महासङ्घको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै आइएफसीसँगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले ज्ञान आदानप्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्रको प्रवर्द्धन, डिजिटल रूपान्तरण र साना तथा मझौला उद्योगको क्षमता विकासजस्ता क्षेत्रमा अन्तरराष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राखे।