
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट क्षेत्रमा राहुघाट नदीको कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको तटबन्ध निर्माण गरिएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाले नदी कटानबाट सडक, पुल र बस्ती जोगाउन रु ३ करोड ३९ लाख ८६ हजारको लागतमा तटबन्ध निर्माण गरेको हो।
बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार कटानले गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, सडक र पुल जोखिममा परेका थिए। नदी नियन्त्रणपछि जोखिम न्यूनीकरण भएको छ।
राहुघाटतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण गरिएको छ। चार मिटर चौडाइ र तीन मिटर उचाइको कङ्क्रिट पर्खालमाथि छ तहको ग्याविन पर्खाल पनि निर्माण गरिएको छ।
निर्माण कम्पनी महाप्रभु–विआरटी साय जेभीले काम सम्पन्न गरेको हो। सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले गलेश्वर क्षेत्रमा समेत तटबन्ध निर्माण गरिएको जानकारी दिए।