जोडिनुहोस
  • होमपेज
  • सांसद माया राईविरुद्धको पुरक अभियोजनामा ३७ लाख बिगो मागदाबी

सांसद माया राईविरुद्धको पुरक अभियोजनामा ३७ लाख बिगो मागदाबी

कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्धको पुरक अभियोजनमा ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

२० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । सांसद राई यो सहकारीको सहसचिव समेत थिइन् । उनको पालामा सहकारीको रकम अपचलन भएको थियो ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजनमार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको छ ।

यो सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनीपछि धरौटीमा रिहा भएका थिए ।

यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भए पनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका