जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिममा १५ करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा १५ करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री

अत्तरिया (कैलाली)। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा १५ करोड ४६ लाख ७४ हजार ११७ रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको छ। स्थानीय पुस्तक विक्रेतामार्फत यो मूल्य बराबरको ११ लाख ३६ हजार ४१७ थान पाठ्यपुस्तक बिक्री भएको कार्यालय प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए।

उनका अनुसार गत चैत १७ गतेबाट पाठ्यपुस्तक बिक्री सुरु गरिएको थियो र चैत मसान्तसम्म यो तथ्याङ्क पुगेको हो। कार्यालयले यस शैक्षिक सत्रमा २५ करोड रुपैयाँ बराबरको १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखेको छ।

श्रेष्ठले जिल्लागत बिक्री विवरण पनि प्रस्तुत गरे। बाजुरामा १ लाख ९ हजार २९६ थान, दार्चुलामा ९५ हजार ८२६, बैतडीमा १ लाख ४२ हजार ६३३, बझाङमा १ लाख ८ हजार ५६० र अछाममा १ लाख २३ हजार ११६ थान पाठ्यपुस्तक बिक्री वितरण भएका छन्।

त्यसैगरी, डोटीमा १ लाख १५ हजार ६३ थान, डडेल्धुरामा ४७ हजार ७६४, कञ्चनपुरमा १ लाख ४७ हजार २३८ र कैलालीमा २ लाख ४६ हजार ९२१ थान पाठ्यपुस्तक बिक्री वितरण भएको उनले बताए।

प्रदेशका सात पहाडी जिल्लामा लगभग सबै पाठ्यपुस्तक पुगिसकेको र केही छुटेका ठाउँमा पनि पठाइँदै गरेको उनले जानकारी दिए। “हामीले सुरुमा पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गरेका थियौँ। कैलाली र कञ्चनपुरका बाँकी रहेका ठाउँमा पाठ्यपुस्तक गइरहेको छ। भर्ना अभियानसँगै सबै जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाउनुहुन्छ,” प्रमुख श्रेष्ठले भने। केन्द्रले गत शैक्षिक सत्र २०८१ मा २२ करोड ५७ लाख रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री गरेको थियो।